Jump to content

Page:Buddhi binod.pdf/5

From Nepali Proofreaders
Revision as of 15:31, 19 April 2025 by Rbn (talk | contribs) (Validated)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been validated

झिलिक्क झिल्के बिजुली सरी सब
तुरुन्त छोडीकन जीवनोत्सव ।
अहो ! कती जीव गए कहाँ किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥९॥

बुढो पुरानो बदली प्रति-क्षण
नयाँ-नयाँ सृष्टिविषे टनाटन ।
सजाउने को छ मजा लिईकन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१०॥

कती म जस्ता उहिल्यै बितीसके
कती सुतेका छन बाँचुँला म के ।
भनी कुनै कत्ति नआत्तिने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥११॥

समस्त सृष्टि स्थितिका नियामक
विरञ्चि नारायण शङ्करादिक ।
कहाँ बसेका छन गुप्त भैकन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१२॥

अहो ! उनै जीव कुनै ति देवता
कुनै घुमेका गुहुमा यताउता ।
कहाँ गए ईश दया-निकेतन
तँलाइ मालुम् छ कि यो कुरा मन ? ॥१३॥