This page has not been proofread
क्रन्दनविना रोएर मर्छन्
दुष्टले राख्छ शान ।
भारतको आकाश पवित्र थियो
गिद्धले आई पखेटा लियो
आँशु भो बादल
बादल भो आगो
जलेर खालि खरानीमा गो
अँधेरी अवसान ।
हा: कठैबरी ! मनकी चरी !
आँशुका दाना पखेटाभरि
उड्नलाई पाए स्वर्गको पुरी
खोलेर छाती देखाउलिस् छुरी
दर्दका दाना यी हजार मुरी
जीवनमा हुन्न जो न्याय त्यसको
आशाले राखी प्राण ।
तर हा: गयो, तर हा: लियो
म्लेच्छले अभिमान !
साधुका आत्मा हजारौं रोए
ब्राह्मण गाई आँशुमा गए
जालीले बुन्यो तान ।
अमृत फल्ने खेतमा फल्यो
विषको कालो धान ।
पानीमा पो हलाहल हरि
कलेजा जल्ने पान ।
आँशुका घुड्का पिएर बस्यौँ
सकल हिन्दुस्तान ।
आगोमा जली नजरमा लाल
बनेर राख्यौँ प्राण ।
दिन र रातको बुहार्तन खाई
अरूको हेरी शान ।