Jump to content

Page:Mhendu.pdf/5

From Nepali Proofreaders
Revision as of 12:53, 18 April 2025 by Rbn (talk | contribs) (Proofread)
This page has been proofread
म्हेन्दुको विषयमा

म्हेन्द यो एउटा तामाङ लयको फूल हो । यसमा दोसाँधे नीलो मोहनी छ, जो गोसाईंथानतिरको कुइरे उकालामा चम्कन्छ । मंगोल तथा आर्य- संस्कृतिको मधु सम्मेलन भएको नेपाल यहाँ एक प्यारको काल्पनिक कहानीमा अमरत्वको सङ्केत दिलाएर वनचरी र झर्नाहरूको स्वरमा बोलेको सुनिएला भन्ने आशा गरिन्छ । मलाई तामाङ सेर्पाहरूको बोली र नाच, तिनको विचित्र शब्दोच्चारणको दोसाँधे मोहनी, तिनको सरलता र सरसताको टूना गहिरोसँग लागेको थियो । मेरो २००३ सालतिरको गोसाईंकुण्डतिरको यात्राको कवितात्मक फल हो । यस सानो गीतिकाव्यमा छोटा साना द्विशब्दांशीदेखिन्‌ लिएर चार पाँच छ सात शाब्दांशी पङ्क्तिसम्म पाइन्छन्‌ । केही छन्द त संस्कृतका विद्युन्माला या त्यस किसिमका अरू छन्दसँग मिल्न जान्छन्‌ । यस किसिमको लय-लहरीमा बगेर एक पटक तादी मादीसँग मिल्न मन लाग्नु स्वाभाविकै हो । भोटे लयमा एक राम्रो भावपूर्ण गीतिकाव्य खडा गरूँ भन्ने मेरो भावना थियो, जस्तो झ्याउरे छन्दमा त्यस प्रकारको काव्य खडा गर्ने प्रयास मुनामदन थियो । तर भावनाको उँचाइबाट कति तल आएर सन्तोष लिनुपर्दछ कि एक पहिलो कदमसम्म त्यस दिशामा लिइयो । यहाँ पहाडी वातावरण, केही नीलो कुइरोले ढाकेको उँचा र सरल तरल संसार झल्केला । जनवाणी र जनलयप्रति कवि लम्किन खोज्नु नै एक स्वस्थ प्रकृति जस्तो लाग्दछ । हामी हाम्रा महाकाव्य र उच्च कविताका हस्तिहाडे बुर्जामा दुनियाँबाट कति टाढा र विदेशी छौँ । नेपाली काव्यसाहित्यलाई जनतातिर लैजाने र जनताको मुटुको सपनाको अन्वेषण तथा उद्घाटनको रूप बनाउने प्रवृत्ति हुनुपर्दछ भन्ने एक अमुखरित