Jump to content

Page:Ek chihan.pdf/61

From Nepali Proofreaders
Revision as of 08:29, 14 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

"किन ?"

"जेठा दाइ तपाईंदेखि साह्रै रिसाउनुभएको छ । अब तपाईंलाई हामीकहाँ आउन नदिने रे !"

"किन ?"

"उहाँलाई सब थाहा भएछ ।"

"के थाहा भएछ ?"

"हामीहरूको प्रेम भएको सबै थाहा भएछ !"

"कसरी, कसले भन्यो रे ?"

"हामी दिनदिनै ख्यालठट्टा गरिरहन्छौं रे, तपाईं पनि दिनहुँ आउनुहुन्छ रे इत्यादि कुरा छिमेकीहरूले पोल लगाएका रहेछन् ।" नानीथकुंले वृत्तान्त भनिदिइन् ।

"अनि तिमीले के भन्यौ नि ?"

"रिसले भुतुक्क भएर पहिले त मैले पनि अलिअलि बोलेकी थिएँ तर झन् रडाको मच्चिन गई नराम्रो रूप लिन जाला भन्ने डरले बोल्नु ठीक पनि लागेन ।" नानीथकुंले भनिन् ।

"म तिमीकहाँ आइहालेँ भने तिम्रा दाजुले मलाई के गर्ने रे ?" अलि खिन्न भावमा डाक्टर गोदत्तप्रसादले भने ।

"बिन्ती छ, तपाईं नआउनुहोस् ।" डराएको भावमा नानीथकुंले भनिन् ।

"त्यसो भए के त अब तिमीले मलाई छोडि नै दिने त ? एकदमै छोडि हाल्ने त ?"

"किन छोड्छु ? ज्यान गए पनि तपाईंलाई म छोड्न सक्तिनँ, तपाईंले मलाई छोडि नै दिनुभए पनि म तपाईंलाई छोड्ने छैन । यो शरीरमा प्राण मात्र होइन, सास भएसम्म पनि तपाईंलाई छोड्दिनँ ।" ममतापूर्ण भावमा नानीथकुंले भनिन् ।

"के गर्ने त ? म तिमीकहाँ आउन सक्तिनँ रे, कसरी मैले मन बुझाइ रहने त ?" मायालु भावमै डाक्टर गोदत्तप्रसादले भने ।

"तपाईं मकहाँ नआउने भए म नै तपाईंकहाँ आइरहुँला । कि म पनि तपाईंकहाँ आउन सक्तिनँ ?"