ठण्डा जल् सितका तलाउ पनि धेर् सब् वृक्ष फल् फुल् भरी ।
घर् छन् धेर् घरमा छ चिज् पनि अनेक् हीरा जवाहेर् धरी ॥
गुल्जार् देख्नु भन्या मनुष्यहरु ता एक् देख्नु नाहीं कहीं ।
एक् योगीनि स्वयम्प्रभा कन जहाँ ध्यान् गर्दि देख्या तहीं ॥१०८॥
सोधिन् योगिनिले प्रणाम् तब गर्या कुन् काम आयौ यहाँ ।
क्या मन्सुब् छ बताउ फेर् अब उपर् जानू छ इच्छा कहाँ ॥
यस्ता योगिनिका वचन् सुनि तहाँ बोल्या हनूमानले ।
आयौं आज यहाँ सबै यति जना केवल् जलै खानले ॥१०९॥
काम् यै हो यहि काम गर्नु छ भनी विस्तार् सुनाया जसै ।
साह्रै खुस् हनुमानका वचनले हूँदी भइन् ती तसै ॥
बोलिन् फल्फुल खाउ जल् पनि पिई फर्केर आऊ यहाँ ।
मेरो नाम बताइ आज त म ता जान्छू प्रभू छन् जहाँ ॥११०॥
यस्ता योगिनिका वचन् सुनि गया जल्पान् गरी फेर् पनी ।
आया योगिनीले गरिन् सब कुरा राम्का इ दुत् हुन् भनी ॥
हेमाकी सखि हूँ सखी गइ गइन् उन्का वचन्ले यहाँ ।
धेरै वर्ष बसी प्रभू भजि लिंदा ऐल्हे कृतार्थै भयाँ ॥१११॥
भन्थिन् राम् अवतार् हुन्याछ हरिको हन्र्या छ रावण् सिता ।
खोज्न्या वानर आउनन् तहिं तलक् याहीं रहू तीमि ता ॥
वानर्को रघुनाथको गरि पूजा यै ब्रह्मलोक् आउली ।
जान्छू आज म ता तिमी बसि रहू क्यै काल् पछी आउली ॥११२॥
यस्तो अर्ति दिई गइन् सङिनिज्यू जुन् ब्रह्मलोक् हो वहाँ ।
नाच्तैमा शिव खुस् हुँदा अघि दिया यो स्थान बस्ती यहाँ ॥
पुत्री हुन् उ त विश्वकर्मकि म हूँ गन्धर्वकन्या सबै ।
विस्तार् आज कह्याँ म जान्छु खुसि भै जाहाँ प्रभू छन् अबै ॥११३॥
Page:Bhanubhaktako ramayan.pdf/96
Appearance
This page has not been proofread
