शिवनारान सबेरै फर्केको देखेर लतमाया अलि आश्चर्यित भइन् । झन् फर्किसकेको डाक्टर गोदत्तप्रसादलाई पनि देख्ता लतमाया जिल्ल परिन् । दुई दुई जना मानिस माथि उक्लेको आवाज सुनेर भात पकाइरहेकी नानीथकुं पनि जिल्ल परेर तल ओर्लिन् ।
डाक्टर गोदत्तप्रसादलाई देखेर त नानीथकुं मनमनै हाँसिन्, तर शिव नारान पनि साथै देख्ता नानीथकुंलाई अलि कस्तोकस्तो लाग्यो ।
शिवनारान सरासर तानकोठामै गए । लतमाया तान चलाइरहेकी थिइन् । एकछिन त्यसै उभिएर शिवनारान त्यहाँबाट सरासर आफ्नै कोठामा गए । डाक्टर गोदत्तप्रसाद तानकोठामा बसिरहे तर शिव नारान त्यहाँ आएनन् । धेरै बेर बस्ता पनि शिवनारान नआएपछि डाक्टर गोदत्तप्रसादलाई गजब लाग्यो ।
अब धेरै बसिरहनु ठीक नदेखेर डाक्टर गोदत्तप्रसाद जान खोजे तर उनी जानुभन्दा अगाडि एक चोटि शिवनारानलाई भेट्न पुगे । सहानुभूति प्रकट गर्दै डाक्टरले भने- "तपाईंलाई आज सन्चो भएन कि कसो ?"
"केही पनि भएको छैन ।" बडो गाह्रो मानीकन शिवनारानले बोले ।
"किन त चेहरा अलि मलिन छ नि ?"
खालि मुख बिगारेर शिवनारान एक शब्द पनि बोलेनन् ।
"शरीरमा केही असजिलो जस्तो भए भन्नुहोस्, म तुरुन्तै ठीक गरि दिउँला ।" डाक्टर गोदत्तप्रसादले बडो मायालु भावमा भने ।
"केही भएको छैन, तपाईं जानुहोस् ।" शिवनारानले भने ।
"कपाल दुख्यो कि ?"
"केही भएको छैन, तपाईंले दुःख गर्नुपर्ने कुरा केही छैन । तपाईं जानु भए पनि हुन्छ ।" अलि उपेक्षाको भावमा शिवनारानले भने ।
शिवनारानको बोलाइको ढङ्गमा केही परिवर्तन भएको पनि डाक्टरलाई ज्ञान भयो । अनि चुप लागी वाल्ल परेर डाक्टर गोदत्तप्रसाद त्यहाँबाट रमाना भए ।
डाक्टर गोदत्तप्रसादलाई देखेर शिवनारानलाई यति रिस बढिसकेको थियो कि न्वारानदेखिको बल झिक्ता पनि उनले थाम्न सकेनन् । यही रिसको आवेशमा शिवनारानले भात खाँदाखाँदै लतमायासित सोधे- "होइन, डाक्टर