चौध
भोलिपल्ट शिवनारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुंलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नुहोला ।" शिवनारानले एक्कासि आदेश जाहेर गरेजस्तो गरी आमालाई भने । लतमाया एकछिन टोलाइन् र भनिन्- "किन ?"
"दिनहुँ डाक्टर गोदत्तप्रसाद आएर नानीथकुंसित ख्यालठट्टा गरि रहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक शिवनारानले दिक्दारी भावमा भने ।
"यता केही दिनदेखि डाक्टर गोदत्तप्रसाद त दिनहुँ आउँछन्, यो कुरा त अवश्य हो, तर ख्यालठट्टा गरिरहेको मैले देखेकी छैन ।" लतमायाले अलि रोमाञ्चक भावमा भनिन् ।
"तपाईं माथि भात पकाइरहनुहुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नु होला ?" शिवनारानले भने ।
लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि त्यसै गर्नुहोस् ।" शिवनारानले भने ।
अहिले पनि लतमाया चुप नै लागिरहिन् । तर उनलाई नानीथकुंदेखि अलि घृणा र डाक्टर गोदत्तप्रसाददेखि रिस उठेर आयो । एकैछिनपछि लतमायाले सोधिन्- "तिमीलाई यो कुरा कसले भनेको शिवनारान ?"
"जसले भने पनि भैगो, तर होसियारी त हामीले गर्नैपर्छ ।"