Jump to content

Page:Ek chihan.pdf/33

From Nepali Proofreaders
Revision as of 11:17, 13 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

एघार

यता केही दिनदेखि शिवनारानको घरमा डाक्टर गोदत्तप्रसाद दिनदिनै पाँच बज्यो कि दाखिल हुन थाले । पाँच बज्नासाथै लतमाया कपडा बुन्ने काम छाडी भात पकाउने सुरसारमा माथि भान्छामा उक्लिहाल्थिन् । नानीथकुंचाहिँ भात खाने बेला नभएसम्म तानैमा बसी कपडा बुनिरहन्थिन् । आज पनि डाक्टर गोदत्तप्रसाद दिनहुँ पाँच बज्नासाथै टुप्लुक्क आइपुगे । नानीथकुं एक्लै तानमा कपडा बुनिरहेकी थिइन् । डाक्टर गोदत्तप्रसाद आउनासाथ नानीथकुंले स्वागतसत्कारको भाव जाहेर गरिन् । गोदत्तप्रसाद दिनहुँ आउने थाहा भएको हुनाले झ्यालको फलैँचामाथि परालको चकटी बिछाइराखिएको हुन्थ्यो । दिनहुँ डाक्टर गोदत्तप्रसादले आज पनि सोधे- "आमा खै नि ?"

"माथि भान्छामा ।" नानीथकुंले पनि दिनहुँ सरल उत्तर दिइन् ।

"दिनहुँ बुढी आमालाई भात पकाउन लाएर तरुनी छोरी तानमा खेलि रहने ? यो त पच्चिसै आना अन्याय भयो ।" अलिक ठट्टाको भावमा हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।

अलि लज्जाको भावमा नानीथकुंले मुसुक्क हाँस्तै भनिन्- "कपडा बुन्नुभन्दा भात पकाउन सजिलो भएर आमा जानुभएको ।"

"निकै बाठी रहिछ्यौ तिमी, तान चलाउने काममा खेलको रस भरिएको हुन्छ, त्यो आफूले रोजेर धुवाँमा आँसु चुहाउनुपर्ने, एकदमै नरमाइलो र बोझा काम आमालाई, अझ त्यही सजिलो भनेर बिचरी बुढियालाई फुरुङ्ङ पारि राखेको ? कत्रो बठ्याइँ !" ठट्टाकै भावमा डाक्टर गोदत्तप्रसादले भने ।