This page has not been proofread
८८
उच्च, निश्चल, निस्पक्ष, ठिङ्गा वृक्षहरू सबै।
देखिन्छन् भोगको तृष्णा त्यागेका अवधूत झैं।।
८९
मरेतुल्य बगैंचाको कुनाकानी अली अलि।
देखिये हृदयाऽऽनन्दी रसिला कुन्दका कलि।।
९०
कमायें जगतैलाई भनी शिशिर पागल।
खिस्स हाँस्यो कि देखाई दन्त झैं कुन्दकुड्मल?।।
९१
दाउरा पातका निम्ति वनभित्र पसीकन।
ग्रामीण रमणी थाले शालैज्यू गीत गाउन।।
९२
तुषाराले मरेतुल्य बनायेको वनै सब।
घन्क्यो घनक्क त्यै गीतप्राणसञ्चारले अब।।
९३
पह्लाये दुइचारोटा कलिला फूलका कलि।
कृत्यको तत्त्व जानेको विज्ञजस्तै अली अलि।।
९४
आरू र आलुचा आलूबखडा पुष्पभूषित।
मानू वसन्तका दिव्य दूत झैं छन् उपस्थित।।
९५
लागूजस्तो महाऽऽनन्दी फागुको रङ्गमा परी।
विलासीजनको वृन्द रमायेको छ बेसरी।।
९६
काट्यो जगतले जाडो धैर्यशस्त्र लिईकन।
रङ्गका निहुँले रक्त बहन्थ्यो नत्र यो किन?।।