Jump to content

Page:Ek chihan.pdf/18

From Nepali Proofreaders
Revision as of 15:26, 10 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

सात

डाक्टर गोदत्तप्रसाद ठीक आठ बजे आइपुगे । उनलाई देख्नासाथ अष्टनारानले एक चोटि नमिठो आँखाले पुलुक्क हेरे । बिरामीको हेराइ देखेर डाक्टर गोदत्तप्रसाद एकछिन टोलाए । एकछिन जिल्लिएर बिरामीतिर हेरिसकेपछि डाक्टर गोदत्तप्रसाद बिरामीको नाडी हेर्न थाले । नाडी हेरिसकेपछि छाती जाँचे । अनि बिरामीसँग सोधे- "आज तपाईंलाई कस्तो छ ?"

"अलि अप्ठ्यारो भएको छ ।" बिरामीले डाक्टरको अनुहार हेरेर भने ।

"धन्दा नमान्नोस्, केही हुन्न ।" अलि आश्वासनको भावमा डाक्टर गोदत्तप्रसादले भने ।

अष्टनारानले डाक्टरको मुख क्वारक्वारती हेरे, केही बोलेनन् । "केही खान मन लाग्छ ?" डाक्टरले सोधे ।

नकारात्मक भावमा अष्टनारानले टाउको हल्लाए ।

एकछिन चुपचापीले छायो । डाक्टरले बडो गौरसित बिरामीको प्रकृति अध्ययन गरिरहे । बिरामीले पनि डाक्टरको अनुहार एकटकसित हेरि रहे । यसरी समय करिब पाँच मिनेट बित्यो होला अनि एकाएक बिरामी अष्ट नारान बोले- "डाक्टरसाहेब ! अब म कति दिन बाँचुँला ? आज सोमबारे औंसी परेको छ, कडा दिन छ !"

"यस्तो कुरा गर्नलाई के भएको छ र तपाईंलाई ? दुई दिन बिरामी हुँदैमा मानिस मरे भने त संसार चाँडै शून्य हुन्छ । मैले भनेजस्तो बस्नोस् न, अझ बिसासय वर्ष तपाईं बाँच्नुहुन्छ ।" डाक्टरले हाँस्तै भने ।