दुई
अष्टनारान बिरामी भएको आज ठ्याम्मै दुई महिना भइसक्यो । उनले आफ्नो स्वास्थ्य एक महिनासम्म आफ्नै टोलका गुभाजुलाई देखाएका थिए । बिचराले हुनसम्मको उपाय गरिसकेका थिए । उनीबाट केही जोर नचलेर असनका तुयु गुभाजुलाई पनि देखाइसके । तुयु गुभाजु नेपालका नामी झारफुके वैद्य हुन् । डाक्टर, कविराजहरूले झैं उनी पनि फिस लिन्थे । त्यसैले पनि उनीप्रति मानिसहरूको विश्वास बढेको थियो ।
तर, एक्काइस दिनसम्म तुयु गुभाजुबाट इलाज गराउँदा पनि अष्ट नारानको व्यथा बिसबाट उन्नाइससम्म पनि गरेन ।
अष्टनारानका छोराहरूले माहिला कविराजलाई देखाउने विचार गरेर तुयु गुभाजुलाई बोलाउन छाडे । जे गरेर पनि बाबुलाई निको पार्नु पर्छ भन्ने भावनाले अष्टनारानका छोराहरूले सकेसम्म ऋण लिएरै पनि बाबुलाई औषधी गराइरहेका थिए । एक हप्तासम्म रोज माहिला कविराजको औषधी गर्दा पनि केही सिप लागेन, व्यथा बढ्दै आयो । फिस, औषधी गर्दा पच्चिस रुपियाँ पनि सिद्धियो ।
अन्तमा केही सिप नलागेर लतमायाले आफ्ना पोइले आफ्नो अन्त्येष्टि क्रियाका निम्ति खाइनखाइ ‘मेरो अन्त्येष्टि क्रियासिवाय यस रुपियाँले अरू केही नगर्नू’ भनेर गाडिराखेको पच्चिस रुपियाँ खर्च गरेर भए पनि एक चोटि डाक्टरलाई देखाउने इच्छा गरिन् ।