दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम रामखेलावन हो, अनि उनको थर कुर्मी; कुर्मी थरलाई ‘राउत’ पनि भन्छन् । रामखेलावन राउतको घरमा उनी नै मालिक हुन् किनभने उनका बाबु, दाजु वा अरू जेठाबाठा कोही छैनन् । दुई जना भाइ, एउटी बहिनी र आमा- बस, परिवारको नाममा यत्तिकै । घुमीघुमीकन काठमाडौँ उपत्यकाको खेती गर्ने तरिकाको अध्ययन राम्ररी गरेका थिए उनले। यहाँको प्रणाली अपनाएर मधेसमा पनि यस्तै चलन चलाउने पनि उनको दिलको मुराद थियो । यहाँका किसानहरूलाई मधेसमा लगेर खेती गराउने र उहाँका किसानहरूलाई सिकाउन लगाउने विचार पनि यिनले गरेका थिए ।
खेतका खेत डुल्दै गर्दा रामखेलावन राउतको भेटघाट र चिनजान भएको थियो शिवनारानसँग । नानीथकुं पनि खेतमै काम गरिरहने हुनाले रामखेलावनले देख्न पाइरहेकै थिए । नानीथकुंमा पनि गुणको कमी थिएन । केही कम थियो त पढाइ मात्रै हो, तर पढेर, शिक्षित भएर पनि नपाइने गुण रामखेलावनले नानीथकुंमा देखिरहेका थिए । नानीथकुंको सौन्दर्य र अरू सबै व्यावहारिक गुण देखी रामखेलावन मुग्ध भएर भित्रभित्रै लोभिइरहेका थिए । झन् विवाहको कुरा पेस भइदिँदा त उनी एकाएक आह्लादित भए ।
दुनियाँमा सब थोक हुन गाह्रो छ, समय लाग्छ, श्रम लाग्छ, बुद्धि खर्चिनुपर्छ, तर प्रेम हुन केही गाह्रो छैन, समय लाग्दैन, श्रम र बुद्धिको पनि खर्च हुँदैन, मानिस सजिलैसित एक घडी, एकछिनमै प्रेम सम्बन्ध जोड्नाका निम्ति तयार हुन्छ र गाँठो बाँध्नलाई अगाडि बढ्छ । समान गुण भएका दुई मानिसको दुई हाँस्तो दिल तुरुन्तै, आँखा झिम्म गर्दागर्दै एक हुन्छ, एक बन्छ । उसले जाति हेर्दैन, संस्कृति हेर्दैन, टाढापन हेर्दैन, खानु लाउनु, सुखदुःख केही हेर्दैन । यहाँसम्म कि दुई व्यक्तिको व्यवहार र सम्बन्धलाई चलाउने, अगि बढाउने परम साधन भाषासमेत मिल्नेनमिल्ने र जानेनजानेको वास्ता गर्दैन । कसैको दिलसित कसैको दिल हाँसेपछि उनीहरू एक हुनलाई तत्पर हुन्छन् र अगाडि बढ्छन् ।