मानिस, कुलवधू, घरकी लक्ष्मी भित्रिने हुन् । त्यसैले दैलोनिरै डोली अड्याई, ढोकैदेखि स्वागतसत्कार गर्नुपर्छ’ भन्ने राय स्वास्नीमानिसहरूबाट आयो ।
स्वास्नीमानिसहरूको रायमा शिवनारानले घोर विरोध गरे- "हाम्रो समाजमा दुलही भित्र्याउँदा होस् वा छोरीबेटी अन्माउँदा उनीहरूलाई विवाहको दुई-चार दिन निकै स्वागतसत्कार, मानमर्यादाको व्यवहार हुन्छ, अवश्य हो । तर, डोलीमा हाली ल्याएर ढोकामा रोकी अनेक स्वागतसत्कार गर्दैमा स्वास्नीमान्छेले हाम्रो समाजमा के मानमर्यादा र स्थान पाएका छन् ? त्यसैले बरु हामी डोलीमा हालेर सम्मान गर्ने ढोंग नगरौं, ढोकामा उभ्याई दुनियाँको अगाडि स्वागतसत्कार गरेको स्वाङ पनि नगरौं । त्यसको सट्टा उनलाई हामी लोग्नेमानिसहरूले आफूले चाहेको हक दिन र मर्यादा गर्न नभुलौँ, नबिर्सौं र त्यसका निम्ति दृढसङ्कल्पी बनौँ । यही मेरो विचार छ ।"
शिवनारानको यो विचार पुननारानलाई ज्यादै मन पर्यो, हर्षनारानले त अझ बढ्ता स्वागत गरे । आखिरमा हर्षनारानको स्वेच्छाले डोलीमा हालेर नल्याईकन हिँडाएर नै ल्याउने निर्णय भयो ।
⬥
माहिला तामाङ भरियाको जीविका गरेर खाइरहेका, बुद्धिमान् मानिस नभए तापनि विशाल हृदयका उदार व्यक्ति हुन् । आफ्नी छोरी पुतली हर्षनारान
ज्यापूसँग रोजेर जान लागेकी देखेर उनी बिछट्टै खुसी छन् ।
सात-आठ सालतिर काठमाडौँमा भएको जनविद्रोह र आन्दोलन देखेर माहिला तामाङले नेवार र पर्वतेबीच सम्बन्ध जोड्ने भावना र प्रेरणा पाएका हुन् । उस बेला टुंडिखेलमा विशाल जुलुसले ‘नेवार पर्वते एक हौं, नागरिक अधिकार पाउनैपर्छ, प्रजातन्त्र हुनैपर्छ’ भन्ने जोडदार नारा लाएको थियो । जुलुसले लगाएका अनेक नारामध्ये अरूको त माने र महत्त्व माहिला तामाङले बुझेका थिएनन्, तर ‘नेवार पर्वते एक हौं’ ले उनको हृदय एकदम घचघच्यायो, उम्मिएको आकाशमा एकाएक घाम चर्किएजस्तो भयो उनलाई ।