Jump to content

Page:Ritubichar.pdf/44

From Nepali Proofreaders
Revision as of 08:01, 10 April 2025 by Prty (talk | contribs)
This page has not been proofread

१६
उनै दिन उज्याला छन्, उज्याला छन् उनै निशा।
उनै प्राणी उज्याला छन्, उज्याला छन् उनै दिशा।।

१७
दुःखदुर्दोषका साथै वर्षाले सब विश्वको।
मैलोपन पखाल्यो कि प्रत्येक परमाणुको?।।

१८
वर्षा जाँगरिली दासी घोई पोती लिपी चली।
शरद् मालिकिनी जस्तै गर्न थाली ढलीमली।।

१९
शुकीशक्यो हिलो सारा, धूलो छैन रतीभर।
रस्ता देखिन्छ सम्पूर्ण लिपेको झैं मनोहर।।

२०
नरनारी, लतावृक्ष, पशुपक्षी तमामको।
ढाँचाले स्पष्ट देखायो आनन्दी राज्य रामको।।

२१
न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ।
अपूर्व यो शरत्काल सबैको सुखधाम छ।।

२२
निर्दोषी नयनाऽऽनन्दी शरत्का रसिला दिन।
सधैं बस्ने भयेदेखि चाहिन्थे कविता किन?।।

२३
न तुवाँलो, न ता हुस्सू, न धूलो, न पयोधर।
स्वच्छ देखिन्छ आकाश इन्द्रनीलबराबर।।

२४
कुइरो घामले भाग्यो, तुवाँलो वायुले छुट्यो।
धूलो वर्षादले मार्यो, मेघ आफैं पछी हट्यो।।