"भन न, आफूलाई लागेको कुरा बोल्नुपर्छ, नत्र आफैँलाई धोका हुन्छ । आफ्नो विचार र रायले मानिसको अस्तित्वको रक्षा गर्छ नत्र उसले आफ्नो अस्तित्व मात्र मरेको पाउँछ ।" अलि मुसुक्क हाँसेर रञ्जनादेवीले भनिन् ।
नानीथकुंले केही पनि भनिनन् खालि गम्भीर भावमा मुसुमुसु हाँसिरहिन् अनि अझ बढ्ता हित कामनाको भावमा गम्भीर भएर रञ्जनादेवीले भनिन्- "तिमी मेरो आफ्नो जातिकी मानिस हुनाले मेरो नातेदार हौ । हरेक स्वास्नीमान्छेले दुनियाँभरका प्राणी अथवा मानिस मात्रको हित गर्न नसके पनि कमसेकम स्वास्नीमान्छेको इज्जत र गौरवको मात्र ख्याल राख्न सके पनि दुनियाँमा दुःखको मात्रा यति घट्छ कि मानिसको बस्तीभित्र मात्र होइन, बाटोबाटोमा सुख हाँसिरहेको हामी पाउनेछौं । तसर्थ नानीथकुं ! तिमी नारी भएर नारीको मूल्य पहिचान गर, नारीको महत्त्व बढाउन कोसिस गर । समाजको मर्यादा र गौरव नारीको मूल्यमा निर्भर छ । भौतिक उन्नति र सुविधाले मानिसलाई बाहिरी सुख मात्र प्राप्त हुन सक्छ, तर नारीको चरित्र पाउनाले मानिसको जीवनमा अलौकिक आनन्द आउँछ । त्यसैले सभ्यताको मापदण्ड भौतिक उन्नति वा विज्ञानमा मात्र हुँदैन, चरित्रको उन्नति नै उसको चरम सीमा हो । नारीको चरित्र हाँस्न पाएको ठाउँमा पुरुषको आत्माले नाच्न पाउँछ, त्यस्ता ठाउँमा नै हौसला फुल्न आइरहन्छ, फुर्ती मुस्कुराइरहन्छ र अभिमान बाँचिरहन्छ ।"
रञ्जनादेवीले यति कुरा छाँटिसकेपछि बल्ल मुन्टो उठाएर नानीथकुं बोलिन्- "तपाईंको कुरा ज्यादै राम्रो छ, जति सुने पनि पेट नभर्ने, अझ सुनिरहूँ जस्तो लाग्छ । तर मलाई यो पनि गजब लागिरहेको छ कि तपाईंले मलाई बोलाउन पठाएर किन यो सब कुरा गरिरहनुभएको हो ?"
"तिमी बिग्रन आँटेको देखेर।" बडो मायालु भावमा गम्भीर भएर रञ्जनादेवीले भनिन् ।
"म किन बिग्रन्छु ? मैले के बिग्रने काम गरेकी छु ?" नानीथकुंले विनम्र भावमा भनिन् ।