"किन आमा ?" अलि आश्चर्य भएर नानीथकुंले भनिन् ।
"मलाई भात पकाउन गाह्रो भयो ।"
"तान चलाउन झन् गाह्रो छ । आमालाई के भयो ?" मायालु भावमा नानीथकुंले भनिन् ।
"केही पनि भएको छैन । भात पकाउन अलि गाह्रो लाग्यो ।"
यत्तिकैमा डाक्टर गोदत्तप्रसाद आइपुगे । उनलाई अगिअगि लतमाया र नानीथकुं आमाछोरी दुवैले स्वागतसत्कार गरे ।
"आज त सबेरै आउनुभयो ।" सत्कार गर्दागर्दै लतमायाले भनिन् ।
"आज बिदा छ ।" डाक्टरले भने ।
"ए !"
"आज अरू विशेष काम पनि केही नभएको र बिरामी हेर्न पनि कोही नभएकाले यहाँ आएको हुँ ।"
"यस्तै निगाह सधैँ राख्नुहोला डाक्टरसाहेब !"
"हेर्दै गरेर हो कि हिजोआज मलाई तान चलिरहेको आवाज सुन्न र त्यसमा कपडा बुनेको हेर्न बिघ्नै रहर लागिरहेछ ।"
"यो त ज्यादै असल कुरा हो डाक्टरसाहेब !"
"हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको उन्नति हुन कसरी सम्भव होला ? त्यसैले त महात्मा गान्धीले सबभन्दा स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।"
"डाक्टरसाहेबले ज्यादै ठीक भन्नुभयो ।"
"म पनि अब यस्तै घरबुना कपडा लाउँछु । दौरासुरुवाललाई हुने एक थान कपडा बुनिदिनोस् न मलाई। चाहिएका सरजाम म आफैँ जुटाइदिन्छु ।" लतमाया खिस्स हाँसिन् । नानीथकुं पनि मुसुक्क हाँसिन् ।
"किन, तपाईंहरूले पत्त्याउनुभएन र ?" मुसुक्क हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
"किन, नपत्याउनु नि, तपाईंजस्ता बडादमीले बोल्नुभएको कुरा पनि नपत्याउन सक्छौं ?"
"होइन, तपाईंहरू हाँस्नुभएकाले पो मैले भनेको हुँ ।"
"हुन्छ, हुन्छ, जरुर बुनिदिउँला डाक्टरसाहेब !"