एक्कासि लतमायाले नानीथकुंलाई भनिन्- "जाऊ नानीथकुं ! भात पकाउन, आज शिवनारानहरू अलि चाँडै आउँछन् ।"
लतमायाको यो वाक्यले नानीथकुं र डाक्टर गोदत्तप्रसाद दुवैलाई ‘एक तीरले दुई सिकार’ भएजस्तो भयो । दुवैलाई साह्रै नमज्जा लाग्यो । दुवैलाई ‘लौ मार्यो !’ भइहाल्यो ।
यी सब हुँदाहुँदै पनि नानीथकुंले स्वाभाविक भावमा भनिन्- "किन, आमा भात पकाउन नजाने ?"
"भात पकाउन मलाई अलि गाह्रो लाग्यो । म तान बुनिरहन्छु, यही मलाई सजिलो लाग्यो ।" लतमायाले पनि स्वाभाविक तवरले भनिन् ।
"तान चलाउनुभन्दा त भात पकाउन सजिलो होला कि ?" नानीथकुंले भनिन् ।
मौका सम्झेर डाक्टर गोदत्तप्रसादले पनि भनिहाले- "हुन त हो, तान चलाउनुभन्दा भात पकाउन नै सजिलो होला ।"
"डाक्टरसाहेबले भन्नुभएको कुरा मनासिब छ, तर भात पकाउँदा ज्यादै कपाल दुख्ने भएर आउँदो रहेछ ।" लतमायाले भनिन् ।
"परिश्रम र थकाइ त तान चलाउँदा जरुर लाग्छ आमै !" डाक्टर गोदत्तप्रसादले भने ।
"डाक्टरसाहेबले ‘हुँदैन’ भनेपछि जिद्दी नगर्नुहोस् आमा ! जानोस् तपाईं नै भात पकाउनुहोस् । तानको काम म गरिरहुँला ।" नानीथकुंले भनिन् ।
"होइन, तिमी नै भात पकाउने काम गर, कपाल दुखेर मैले सहनै सकिनँ । तान चलाउँदा मलाई सुबिस्तै छ ।" लतमायाले भनिन् ।
नानीथकुंलाई पर्यो फसाद, जिद्दी गर्न त हुँदै भएन, भन्डाफोर हुने पनि डर; निहुँ थाप्ने पनि ठाउँ नै भएन । त्यसैले मनमनै दिक्क मानेर नानीथकुं चुपचाप भान्छामा जान तयार भइन् । आफ्नो आशा, अभिलाषा र उद्देश्यउपर वज्रपात हुन लागेकाले डाक्टर गोदत्तप्रसादले फेरि एक चोटि आखिरी बुद्धिचाल गोटी चाल्न लागे ।
नानीथकुं जान तम्सनासाथ झट्ट उनले भनिहाले- "तपाईंको दिलले आज भात पकाउन जाने उत्साह पाउन सकेन जस्तो छ ।"
डाक्टर गोदत्तप्रसादको कुरा टुङ्गिन नपाउँदै लतमायाले भनिन्- "केही भएको छैन, भात पकाउन जाओस्, मलाई वास्तवमा तान चलाउनमै सुबिस्ता छ ।"