सत्र त्यस दिन शिवनारान जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि सबेरै घर फर्के । डाक्टर गोदत्तप्रसादलाई भेट्टाइहाल्नुपर्छ भन्ने मनसाय गरी शिवनारान हत्तरपत्त फर्किरहेका थिए । नानीथकुंले भात पकाउन नगई लतमायाले नै साबिक भात पकाएको भए डाक्टर गोदत्तप्रसाद घरमा भेटिने पनि थिए ।
तर शिवनारानले डाक्टर गोदत्तप्रसादलाई आफ्नै घरमुनि भेट्टाए । डाक्टर गोदत्तप्रसादलाई हेर्न छिमेकी घरका आइमाईहरू पनि ज्यालख्यालमा झुम्मिरहेका थिए । यो दृश्य पनि शिवनारानले आउँदाआउँदै देखे । यो देखेर उनलाई झन् झौंक चल्यो ।
शिवनारानले डाक्टर गोदत्तप्रसादलाई वास्तै गरेनन् । बरु डाक्टर गोदत्तप्रसाद नै अडेर शिवनारानसँग बोले- "आज त सबेरै आउनुभयो !"
शिवनारानलाई यो झन् मन परेन तर रिसाउन पनि शिवनारानले ठीक देखेनन् । एकछिन के गरूँ, कसो गरुँ गरेर शिवनारान बोले- "अँ ।"
"धेरै दिन भयो तपाईंसित कुराकानी गर्न नपाएको, आज सबेरै फर्कनुभएको मौकामा एकछिन कुराकानी गरिहालूँ" भन्दै डाक्टर गोदत्तप्रसाद शिवनारानसाथ फेरि माथि आउन खोजे ।
शिवनारानलाई पर्यो फसाद । उनी भित्रभित्रै रिसले चुर भए तर केही भन्नु पनि असभ्यता हुने भयो । के गरूँ, के गरूँ, के भनँ, के भनूँ गर्दैमा झटपट शिवनारानले भने- "भैगो, फर्किसक्नुभएको मानिसले किन फेरि दुःख गर्ने !"
"केही दुःख छैन मलाई, तपाईंजस्तासित कुराकानी गर्नु पनि केको दुःख ! बरु सुखको कुरा हो । यस्तै सौभाग्य जीवनले पाइरहोस् न ।" मन्द मुस्काउँदै डाक्टर गोदत्तप्रसादले भने ।
शिवनारानले केही पनि भन्न सकेनन् । डाक्टर गोदत्तप्रसाद पनि शिवनारानसँगसँगै फेरि माथि उक्लन थाले ।