नानीथकुंलाई भन्दाभन्दै पुननारानले आफ्नी आमा लतमायालाई पनि भने- "डाक्टर आउँदा तपाईंले पनि वास्ता नगर्नू । केही दिन वास्ता नगरेपछि आफैँ कायल भएर आउन छोड्लान् ।"
भाइको साथ पाएर शिवनारानको थकालीपन झन् हौसलादार भयो । चुठ्न उठ्ताउठ्तै शिवनारानले नानीथकुंलाई सम्बोधन गरेर यहाँसम्म पनि भनिदिए- "हेर नानीथकुं ! भोलिदेखि डाक्टर यहाँ आइरहेको पाएँ भने म निको मान्ने छैन । उनको पनि म खुट्टा नभाँचीकन छोड्दिनँ ।"
शिवनारानको यो भनाइले नानीथकुंलाई पनि साह्रै झोंक चलेछ । सहन खोज्दा पनि उनले सहन सकिनन् र प्वाक्क बोलिहालिन्- "उनको घरमा खबर दिनुहोला, अनि उनी यहाँ आउन सक्तैनन्, नत्र उनी आएमा मेरो के दोष ? उनी आएमा मलाई सजाय किन ?"
"तिमी उसलाई आउन रोक्न सक्छ्यौ ।" शिवनारानले भने ।
"म कसैलाई रोक्न सक्तिनँ ।"
"भनिदेऊ न ‘अबदेखि तिमी यहाँ नआऊ रे’ मैले भनेको छ ।"
"त्यसो पनि म भन्न सक्तिनँ ।"
"तिमीले भन्नैपर्छ ।"
"कसरी मैले लोग्नेमानिससित त्यत्रो कडिकडाउ र जबरजस्ती कुरा गर्ने ?" अलि रुन्चे स्वरमा नानीथकुंले भनिन् ।
"हाँसीहाँसीकन ख्यालठट्टा गर्ने बेलामा भने ऊ लोग्नेमानिस भएन ?" ठुलठुला आँखा गरी शिवनारानले भने ।
शिवनारानको यो उक्ति नानीथकुंलाई बाणजस्तो भयो । रातोरातो आँखा गरी मुखभरि जबाफ लिएर नानीथकुंले शिवनारानप्रति हेर्न थालिन् । शिवनारान गर्जिरहे । नानीथकुं तर्सिइन् । रात छिप्पिँदै गयो । शिवनारान जुरुक्क उठे । उनी जसोतसो रिसलाई काबुमा राख्ने कोसिसमा लागे "बिस्तारै उनको रिस सितलो भयो। उनी निदाए । नानीथकुं छटपटाइरहिन् । उनी निदाइनन् ।