"होइन, मैले तिमीउपर के अपराध गरेको छु र एकाएक आज ममाथि यत्रो प्रहार ?"
"केही गर्नुभएको छैन, फूल बिछ्याएर आनन्दसित सुत्न दिइराख्नुभएको छ । योभन्दा सुख अरू के होला ।"
"के दुःख दिएको छु त भन न, होस नभईकन केही दुःख पुऱ्याएको रहेछु भने समालुँला ।"
"किन दुःख दिनुहुन्थ्यो । तपाईंले पनि मलाई दुःख दिनुहोला ? दिनदिनै दूधभात ख्वाइराख्नुभएको छ- राम्रो, मसिनो, लत्ताकपडा लगाउन दिइराख्नुभएको छ, अनेक सुख सामग्री जुटाइराख्नुभएको छ । सारा भौतिक सुखले मलाई छोपिराख्नुभएको छ । तर तपाईंलाई थाहा छ ? यी सब भौतिक सुखलाई तुच्छ सम्झेर, तृणबराबर मानेर अर्कै एक विशेष सुख वा भोगलाई मात्रै स्वास्नीमान्छेहरू खास सुख सम्झन्छन् र मान्छन् । उनीहरू आफूमाथि प्रेम गर्नेलाई एकलौटी गर्न चाहन्छन् । आफ्नो हृदयका व्यक्तिलाई कसैले हेरेकोसम्म पनि देख्न चाहँदैनन् । तर अफसोस ! लोग्नेमानिसहरूले यसमा कृतज्ञता प्रकट नगरीकन उल्टो यसलाई आफ्नो अधिकार सम्झने भुल गरिरहेका छन् ।" बडो गम्भीर भएर आवेशपूर्ण भावमा रञ्जनादेवीले भनिन् ।
रञ्जनादेवीले त्यति लामो कुरा छेड्दा पनि डाक्टर गोदत्तप्रसादले चुइँक्क एक शब्द पनि बोलेनन् । सुनेकोनसुन्यै गरी खुरुखुरु भात खाइरहे । मानौं भातका साथसाथै रञ्जनादेवीले बोलेका कुराहरू पनि निलिरहेका छन् ।
डाक्टर गोदत्तप्रसादको थालमा भात पनि सकिनै लागिसकेको थियो, ‘आज यिनलाई कायल नगरी छाड्न हुन्न’ भन्ने विचार गरी रञ्जनादेवी फेरि बोल्न सुरिइन् ।
उनलाई यो पनि प्रतीत भएर आयो कि ‘गेडा नफुटेका मिठातिता लवजले मात्रै उनीबाट कुरा उकेलाउन सकिन्न, प्रस्टै सिधा कुराको डोरीले उनको बदमासीलाई बाँध्न सके मात्र उनले भएको कुरा बक्लान् ।’
यस्ता अनेक सम्भावना सोच्तै रञ्जनादेवीले भात खाइसक्नै लागेका डाक्टर गोदत्तप्रसादमाथि ठाडै हमला गरिन्- "बिरामी हेरी मानिसहरूको सेवा गर्नाका निम्ति तपाईं बिरामीकोठा खोलेर बसिरहनुभएको हो कि गालामा गुलाफ फुलेका तरुनीहरू फसाउन जाल थापिरहनुभएको हो ?"