This page has not been proofread
८९
अस्ताऽद्रिका चुलीबाट घर्क्यो घाम अली जब।
जलवासी अनी हाँसी निस्कन्छन् तीरमा सब।।
९०
ग्रीष्ममा सूर्यको छैन चन्द्रको झैं प्रशंसन।
भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा गरम्पन?।।
९१
दिन रात दुवैको छ चौथो याम मनोहर।
चतुर्थाऽऽश्रम झैं आर्यजातिको शान्तिमन्दिर।।
९२
दिनमा जीवनाऽऽशाको लहरा जो हराउँछ।
चन्द्रिकाऽऽमृत पायेर रातमा त्यो पह्लाउँछ।।
९३
उदयाऽचलमा चारु निस्कँदा चन्द्रमण्डल।
ढकमक्क भई फुल्छ मनःकुमुद निर्मल।।
९४
चन्द्रको चाँदनी स्वच्छ लिनलाई थरीथरी।
अटालीमा चढी बस्छन् रातमा च्याखुरासरी।।
९५
प्रचण्ड घामले गर्दा शुष्कप्राय चराचर।
रसाई चन्द्रले पारे सार्थ नाम सुधाकर।।
९६
कर्पूरद्रव झैं चीसो चन्द्रको दिव्य चाँदनी।
पर्दा सर्र रसायेर अङ्कुराउँछ जीवनी।।
९७
बिहानीपखको राती मिल्छ जो शीतलोपन।
विश्वको त्यो उझिन्नामा झुण्डियेको छ जीवन।।