Jump to content

Page:Ritubichar.pdf/24

From Nepali Proofreaders
Revision as of 07:42, 10 April 2025 by Prty (talk | contribs)
This page has not been proofread

५३
जलाशयहरूनेर तुच्छ जीवनखातिर।
मरे पनि झुकायेन धीर चातकले शिर।।

५४
सुन्दा चातकको तेस्तो तिर्खाले व्याकुल ध्वनि।
नौनीसमान पग्लन्छ छाती पत्थरको पनि।।

५५
त्यो मानी पक्षीको तेस्तो त्यो पानीव्रत धन्य छ।
जसको इन्द्रमा मात्र भक्तिभाव अनन्य छ।।

५६
अरू सानातिना पक्षी वनको भित्रभित्र छन्।
रसिला वृक्षका पत्र उनका दिव्य मित्र छन्।।

५७
बिचरा ती चरालाई न चाराको उमङ्ग छ।
न कुनै वन्यलीलाको भावभङ्गितरङ्ग छ।।

५८
ज्वालाजाल फिँजारेको खडेरीरूप दानव।
देखी डरी डरी दप्के किन्नरी झैं चरी सब।।

५९
वैलाये घामले राम्रा भरिला पुष्पपल्लव।
दारिद्र्यले डढायेका दुःखी झैं गतगौरव।।

६०
माथि माथि सबैतर्फ फर्र फाली भुवाकन।
अग्लो सिमल लाग्यो कि सेतो मेघ बनाउन?।।

६१
विद्वेषको विशेषज्ञ धीरको मनमा सरी।
प्रभाव घामको बाक्ला वनमा पर्छ बाहिरी।।