Jump to content

Page:Ek chihan.pdf/42

From Nepali Proofreaders
Revision as of 07:35, 10 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "चौध भोलिपल्ट शिवनारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुंलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नुहोला ।" शिवनार...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

चौध भोलिपल्ट शिवनारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुंलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नुहोला ।" शिवनारानले एक्कासि आदेश जाहेर गरेजस्तो गरी आमालाई भने ।

लतमाया एकछिन टोलाइन् र भनिन्- "किन ?"

"दिनहुँ डाक्टर गोदत्तप्रसाद आएर नानीथकुंसित ख्यालठट्टा गरिरहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक शिवनारानले दिक्दारी भावमा भने ।

"यता केही दिनदेखि डाक्टर गोदत्तप्रसाद त दिनहुँ आउँछन्, यो कुरा त अवश्य हो, तर ख्यालठट्टा गरिरहेको मैले देखेकी छैन ।" लतमायाले अलि रोमाञ्चक भावमा भनिन् ।

"तपाईं माथि भात पकाइरहनुहुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नुहोला ?" शिवनारानले भने ।

लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि त्यसै गर्नुहोस् ।" शिवनारानले भने ।

अहिले पनि लतमाया चुप नै लागिरहिन् । तर उनलाई नानीथकुंदेखि अलि घृणा र डाक्टर गोदत्तप्रसाददेखि रिस उठेर आयो । एकैछिनपछि लतमायाले सोधिन्- "तिमीलाई यो कुरा कसले भनेको शिवनारान ?"

"जसले भने पनि भैगो, तर होसियारी त हामीले गर्नैपर्छ ।"