सबै यस्तै धेरै बेर अनेक कुरा सोचिसकेपछि नानीथकुंले आफ्नो चारैतिर हेरिन् । तैपनि केही नपाएर उनले आफूमा यताउति कतै नहेरीकन एकोहोरिएर आकाश चुम्बन गर्न हडबडाउँदै दौडिरहेको यौवन पाइन्; आफ्नो आङमा एकएक भागमा अटेसमटेस भई पुस्टिएर फुट्न खोजेको जवानी पाइन्; एकान्तमा हाँस्तै नाच्न बोलाइरहेको तिखो तारुण्य पाइन् र दुःख भुलेर सुखको बढ्ता अनुभव गराई जीवनमा पूर्णत्व प्रदान गराउने आत्मसात् साथी प्राप्त गर्ने उत्सुकता पाइन् । उनलाई शङ्का भयो कि उनकी आमाले सायद उनको यही यौवनसम्बन्धी कुरा गर्न लागेकी त होइनन् ? अनि उनी सुन्न जान तम्सिन् ।
अगाडिका अलिकतिबाहेक नानीथकुंले जम्मै कुरा सुनिसकेकी थिइन् । यो कुरा लतमाया र रामबहादुर दुवै जनालाई पत्तो भएन । त्यो कुरा रामबहादुरले पत्तो पाएका भए अझै उनले कुरामा फूल जड्ने थिए । हुन त नानीथकुंलाई यो कुरा मन परेको थिएन; किनभने उनको जवानीले डाक्टर गोदत्तप्रसादलाई अँगालिसकेको थियो, तैपनि उनको मनमा जवानीको उम्लाइ पोखिइरहेको हुनाले नानीथकुंलाई त्यो कुरा नमिठो लाग्न पनि सकेन । कान ठाडाठाडा पार्दै खुब चाख लिएर नानीथकुं एकएक कुरा सुनेर जवानीको आँच तापिरहेकी थिइन् ।
त्यसैले कुराकानी सिद्ध्याएर रामबहादुर गइसकेर आफ्नी आमा आफूतिर आइरहेको पनि उनलाई पत्तो भएन । लुकेर कुरा सुनिरहेका ठाउँमा आमा आइपुगेपछि मात्र झसङ भएर नानीथकुं तानकोठातिर लागिन् ।
हाँस्तै गएर लतमायाले ठट्टाको भावमा भनिन्- "कत्ति नलजाईकन आफ्नो बिहेको कुरा सुन्न आउन सकेकी नि नकच्चरी । लौ, पाथीभात खाएर मनभरि सुत्न सक् अब ।"
दबाउन कोसिस गर्दा पनि स्वभावतः आउन खोजेको हाँसो लुकाउन चेष्टा गर्दै नानीथकुंले लाजले मुन्टो निहुराइन् ।
लतमायाले ठट्टाकै भावमा फेरि भनिन्- "कुरा जम्मै सुनिहालेकी छयौ, अब तिमी तल्सिङ भएर हामी तिम्रा मोही हुन लागेका छौं ।"
"बिनसित्ति !" नानीथकुंले नखराउँदै भनिन् ।
यसपछि लतमायाले आफ्नी छोरीलाई भनिन्- "आजदेखि बेलुकीको भात तिमीले पकाउने गर, म तान चलाइरहुँला ।"