छ बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइसकेपछि करिब एक घण्टापछि अष्टनारानलाई राम्रो निद लागेछ । डाक्टर गोदत्तप्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्टनारानको परिवारमा आशा पलायो । आज यसरी सजिलैसित निद परिदिएकाले उनीहरूका मनमा आशाको ज्योति उदित भएर आयो ।
अष्टनारानले बेलुकीको खाना पनि डाक्टर छँदै अगाडि नै खाइसकेका थिए । खाना बिलकुलै नखाने हुनाले डाक्टर आफैँ अगाडि बसी अलिकति बार्ली पकाउन लाएर खुवाएका थिए ।
भोलिपल्ट बिहानको छ बजेतिर मात्र अष्टनारान बिउँझेछन्, बिउँझँदा उनले आफ्ना वरिपरि सबै छोराछोरी र जहान लतमाया पनि छरिएर बसिरहेका देखे । त्यस बिहान रातिदेखि नै सिमसिमे पानी पनि परिरहेको थियो । पानी परिरहेका कारण अष्टनारानलाई ठन्डा भएर आनन्द लागिरहेको थियो ।
सर्वप्रथम उनले जेठा छोरा शिवनारानलाई सम्बोधन गरेर भने- "शिवनारान ! यतिका दिन भैसक्यो, खेतमा नगएर किन मलाई कुरिरहेको ? किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नुपर्छ । बाबू ! असार बिग्यो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ ।"
मरणासन्न बावुको प्राणदायी कुरा सुनेर शिवनारान जिल्ल परेर बसिरहे । अनि फेरि अष्टनारान बोले- "किन चुप लागिरहेको शिव ? मैले गरेको कुरा तिमीलाई ठीक लागेन ? किसानका निम्ति यो महामन्त्र हो बाबू ! यसलाई तिमी दीक्षा पनि सम्झ ।"
"धेरै नबोल्नुहोस् भनेको बा ! डाक्टरले पनि बोल्न हुन्न भनेका छन् ।" शिवनारानले भने ।