"तपाईं त्यस्तो भन्नुहुन्छ, मैले त लक्षण राम्रो देखिनँ । आज जाउँला कि भोलि जाउँला जस्तो मैले देखिरहेको छ ।" शिथिल भावमा अष्टनारानले भने ।
"तपाईं निश्चिन्त हुनुहोस्, केही भएको छैन ।" यति भनेर डाक्टर गोदत्तप्रसाद जुरुक्क उठी बाहिरतिर गए । डाक्टर बाहिर जानासाथ लतमाया पनि डाक्टरलाई सत्कार गर्ने भावमा पछिपछि गइन् ।
अष्टनारानको कोठाबाहिर शिवनारान, पुननारान, हर्षनारान र नानीथकुं ढोकाबाट चियाएर डाक्टर गोदत्तप्रसादले भनेका कुरा सुनिरहेका थिए । डाक्टर गोदत्तप्रसादले उनीहरू सबैलाई पल्लो कोठामा लगेर भने- "व्यथा बढ्दै छ, मैले हेर्दा आजको दिन काट्न गाह्रै छ ।"
डाक्टर गोदत्तप्रसादले एकाएक यसो भन्दा सबैको होसहवास गुम भयो ।
अनि डाक्टर गोदत्तप्रसादले भने- "तपाईंहरूले अब यसरी चिन्ता गर्ने बेला छैन, जानुहोस् बिरामी कुरुवा बस्न गैहाल्नोस् । बेहोससेहोस केही पनि हुने छैन, बोल्दाबोल्दै घुत्रुक्क हुने रोग हो ।"
डाक्टरको कुरा सुनेर लतमायाले रुँदै भनिन्- "डाक्टरसाहेब ! कुनै उपायले पनि ठीक हुन सक्तैन ?"
"मेरो विचारमा त अब औषधी गर्नुसम्म पनि फजुल छ, किनभने व्यथा असाध्य भइसकेको छ । अब तपाईंहरूले एकछिन पनि नछाड्नुहोला ।" गम्भीरतापूर्वक डाक्टर गोदत्तप्रसादले भने ।
लतमायाले दुवै आँखाबाट बरबर आँसु चुहाइन् । नानीथकुंको आँखाबाट पनि आँसु टप्किहाल्यो । डाक्टर गोदत्तप्रसादले सम्झाएर बिरामीकहाँ कुरुवा बस्न पठाए । लतमाया र उनका सबै सन्तान एकएक गरेर बिरामी अष्टनारानको सेवाशुश्रूषामा उपस्थित हुन गए । उनीहरू सबैलाई सम्झाइबुझाइ गरी डाक्टर गोदत्तप्रसाद आफ्ना घरतिर फर्के । डाक्टरले जाने बेलामा भनेर गएका थिए- "भरेसम्म पनि यस्तै स्थिति रहिरहे बेलुकीतिर एक चोटि बोलाउन पठाउनुहोला ।"
डाक्टर गोदत्तप्रसादको भनाइ सुनेर सबै छटपटाए । डाक्टर जानासाथ लतमाया र उनका छोराछोरीहरू सबै हुल बाँधेर भित्र पसे ।
‘आफ्नो अर्ती सुनेर काममा गइसकेका छोराछोरीहरू किन फेरि एकाएक फर्केर मलाई कुर्न आएका हुन् ?’ अष्टनारानको चिरकाल रोगग्रस्त