पेस्की ल्याएदेखि बेपत्ता भएको हुनाले साहुले उनलाई समात्न आइरहेका थिए । साहुले अनेक भनाइको सिलसिलामा भनिरहेका थिए- "यस्तो बेइमानी गर्नु मनासिब छैन ।"
"बेइमानी गरेको होइन साहुजी ! के गरुँ परिस्थिति नै यस्तो हुन आयो । म बेइमानी कहिल्यै गर्दिनँ ।" पुननारानले बडो नम्रतासाथ भने ।
"खुब इमानदार काम गर्यौ, यही हो तिम्रो इमानदारी ? पेस्की लिइसकेपछि बेपत्ता ?"
"अब एक हप्ता पर्खिदिनोस् साहुजी ! बाबुलाई बिसेक भएपछि म काम गर्न सुरु गरिहाल्छु । आजदेखि डाक्टरको औषधी परेपछि त निको भैहाल्छ ।"
"तिम्रा बाबुलाई ठीक नहुँदासम्म बर्सादले पर्खिरहे त केही छैन ।"
"एक महिनाजति अझै बेला छ, जेठै लागेको छैन । एक-दुई हप्तापछि त झन् दिन लामो हुन्छ । घर बनाउने मुख्य बेला नै त्यही हो, साहुजी !"
"तिमीलाई त्यस्तो छ भने पेस्की फर्काइदेऊ । म अर्कैलाई काम लाउँला !"
"पेस्की ल्याएको रुपियाँ सकिएरै त तपाईंका सबै कुरा सहिरहनुपरेको । बाको यस्तो अवस्था छ, खर्चले मुस्किल परिरहेको थियो, तपाईंले दिनुभएको पेस्कीले मलाई ठुलो काम दियो । यसको पनि मैले गुन सम्झेको छु, साहुजी !"
पुननारानको अति नम्र कुरा सुनेर साहुजीले प्रतिवाद गर्न सकेनन् । लतमायाले पुननारानलाई डाक्टर गोदत्तप्रसादलाई झट्टै ल्याउने ताकिता गर्न पठाइन् । पुननारान र साहुजी दुवै सँगै बाहिर निस्के ।
पुननारान जाँदा पनि डाक्टर गोदत्तप्रसाद किताब नै हेरिरहेका थिए । शिवनारान अघिदेखि उभिएकोउभियै थिए । पुननारान पुग्नासाथ उनले आफ्ना दाजु शिवनारानलाई भने- "बालाई बढ्दै आएको छ, किन ढिलो गरिरहनुभको ?"
पुननारानबाट बाबुको झन् खराब स्थिति सुनेर शिवनारानले हडबडाउँदै डाक्टरलाई भने- "डाक्टरसाहेब ! बालाई झन् बढिरहेको छ रे । झट्टै हिँडिदिनोस् न ।"