लतमायालाई दृढ विश्वास भएर आयो- जिन्दगी नै दिन्छ भने त्यो पच्चिस रुपियाँ अन्त्येष्टिका निम्ति राख्नु बुद्धिमानी होइन, बरु पाप हो ।
यी विचारसँगै लतमायाले छोराछोरीसँग डाक्टरलाई देखाउने र औषधी गर्ने सल्लाह गरिन् । लतमायाले भनेको कुरा राम्रो त सबैलाई लाग्यो तर त्यसले सबैलाई अफसोस पनि गरायो । विशेष गरेर जेठा छोरा शिवनारानलाई झन् बढ्ता अफसोस भयो । बाबु बिरामी हुँदासमेत डाक्टरलाई देखाएर औषधी गर्न नसकेकामा उनलाई चोट लाग्यो । तर अन्त्येष्टिभन्दा बाबुलाई बचाउने कुरा महत्त्वपूर्ण भएकाले आमाको सल्लाह साह्रै बुद्धिमानी पनि लाग्यो शिवनारानलाई । साथै शिवनारानको दृढ विश्वास थियो- डाक्टरी औषधी पाएपछि बाबु अवश्य निको हुन्छन् ।
डाक्टर गोदत्तप्रसादको घर आफ्नै टोलको छेडोमा छ । नजिकका डाक्टर भएका र अलि नाम पनि चलेका हुनाले उनैलाई देखाउने निधो भयो । डाक्टरकहाँ पुगेर शिवनारानले भने- "डाक्टरसाहेब ! दुई महिनादेखि बाबु बिरामी हुनुहुन्छ । डाक्टरसाहेबले एक चोटि हेरिदिनुभयो भने निको हुने आशा गरेर आएको हुँ, डाक्टरसाहेब !"
तर डाक्टर गोदत्तप्रसादले आफ्ना कुरामा बिलकुलै ध्यान नदिएको देखेर शिवनारानको आफैँ घाउ भइरहेको मनमा अझ बढ्ता चोट पयो, तैपनि ठुला मानिस भएका हुनाले शिवनारानले फेरि एक बाजि भन्ने साहस गरेर बोले- "डाक्टरसाहेब !"
टेबिलमा राखिछाडेको एउटा पुस्तक पल्टाएर शिवनारानप्रति ‘पख, नकराऊ’ भन्ने इसारामा डाक्टर गोदत्तप्रसादले केवल देब्रे हात हल्लाए ।
आशा लाग्दो अनुहारमा शिवनारान त्यसै उभिरहे । डाक्टर किताब हेदहिर्दै ‘कोही आयो कि, कोही आयो कि’ भन्ने ध्याउन्नमा बाहिर ढोकातिर, भर्याङतिर बराबर हेर्दथे । यस्तैमा आधा घण्टा बितिसक्यो । शिवनारानमा अब धैर्य रहन सकेन किनभने बाबु सिकिस्त छन् । चिन्ताले उनलाई केही गरे पनि टिक्न दिएन । अनि यही आवेगमा शिवनारानले फेरि बोल्ने साहस गरि