३०
चिताको त्यो ज्वाला धपधप बली अन्तिम गति
सबैको यस्तै हो भनि बहुत हाँस्यो खितिखिति।
धुवाँ हाँस्तै दौड्यो, वितत पथ हाँस्यो गगनको
खरानी झन् हाँस्यो, मुख मलिन पारी पवनको।।
३१
चिताको चौतर्फी करुण बिलनाको वश परी
छिनेको मोतीको लहर सरि आँशू बरबरी।
झरी हाँसे, हाँस्यो विरह बिचरो बन्धुजनको
रुवाबासी साथै हिलिहिलि गर्यो मोह मनको।।
३२
चितामा चित् खाई चटचट गरी देहममता
डढी जाँदा हाँस्यो बहुत खुशि भै खिस्स समता।
लिई खाली सानू स्मरणमय बत्ती पिलिपिली
विधाताको कालो विलयविधि हाँस्यो हिलिहिली।।
३३
दुखी जाँदा हाँस्यो सहजसुख वा शान्ति अभय
सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय।
दुवैको एकै हो विलय, तर हाँसो फरक भो
कसैको त्यै हाँसो सुरपुर, कसैको नरक भो।।
३४
म हाँसेको, हाँसोमय छ सबको जन्मनिधन
नहाँसेको एकै चिज पनि कुनै भेट्न शकिनँ।
गयो झन् झन् बढ्दै भुवनभर हाँसो निरवधि
जगद्व्यापी हाँस्यो मुसुमुसु चिदाऽऽनन्दजलधि।।
३५
कठै त्यो वेलामा उभय गुरुचेला सँग थियौं
पछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल भयौं।
म फर्कें यै चौकीउपर गुरु त्यै पूर्ण पदमा
रहे चित्तै हाँसी अतुल परमाऽऽनन्दमदमा।।
Page:Tarun tapasi.pdf/123
Appearance
This page has not been proofread
