६
पछी हामी प्यारा विविध उनका सन्तति भयौं
धरामा बिस्तारै क्रमसित सबै फैलिन गयौं।
बढ्यौं डाँडाकाँडातक सकल छोपी अलि दिन
पछी घट्तै आयौं नियतिवश लाग्यो र कुदिन।।
७
विधाताको हाम्रा उपर करुणागौरव छँदै
धरित्रीमा अन्धो मनुजकुलको जन्म नहुँदै।
बितेका हाम्रा ती शुभ दिवस यद्वा शुभ घडी
थिये मानू भाग्योदयजनित बुट्टा फुलजडी।।
८
पछी उस्ले अन्धो मनुज जहिले सिर्जन गर्यो
वहाँदेखी हाम्रो सकल कुलमा संशय पर्यो।
घट्यो आयुर्दाको अवधि, भयको सङ्क्रम भयो
कठै हाम्रो हत्या उस मनुजबाटै शुरु भयो।।
९
खुला यद्वा नाङ्गा विकट पट मैदान छ जहाँ
धरित्रीको छाती अपढ दुनियाँ चिर्दछ जहाँ।
वहाँका बासिन्दा अघि सब उनै बान्धव थिये
जथाभावी जस्को मनुजहरुले जीवन लिये।।
१०
धरा प्यारी छोरी, प्रकृति जननी खास, उनले
दियेका, छोरीका उपर खुशि भै शुद्ध मनले।
थिये नानारङ्गी विविध तपसीरूप गहना
उतार्दा ती सारा मनुज गनियो मूर्ख कमिना।।
११
सहन्छन् जो बाधा मनुज, उस भन्दा शतगुणा
सही चर्को बाधा जलदसित मागी जलकणा।
धराको वर्षेनी ज्वर मथर गर्ने सब इनै
तपस्वी हुन्, यस्ता सुरअसुर छैनन् अरु कुनै।।
Page:Tarun tapasi.pdf/126
Appearance
This page has not been proofread
