१२
हुरी, आँधीब्यारी, विकट हिमवर्षा र असिना
कडा लूको धक्का, तरतर लगातार पसिना।
सहन्छन् सम्झन्छन् उस कठिनताको परिणति
तपस्वीको एकै व्रत छ दुनियाँको उपकृति।।
१३
सदा त्यो निस्स्वार्थी व्रत नियम थामी अटल भै
रही ठाडै नङ्गा किसिमसँग ती बान्धव सबै।
सहन्छन् जो चर्को तपविषयको कष्ट कसला
कठै उस्को दिन्छन् प्रतिफल करौंती र बसिला।।
१४
गरी कब्जा लोहाउपर उसका शस्त्र ननिका
निकाली त्यैद्वारा तपकुसुमका मञ्जु कलिका।
जथाभावी तोड्दै मनुजकुल सर्वत्र छरियो
अबादीको चारैतिर चहकिलो रङ्ग भरियो।।
१५
त्यही बढ्दो चढ्दो मनुजहरुको रङग्रसमा
गयो डुब्दै डुब्दै विपुल कुलको वृद्धिसुषमा।
रहे बाँकी थोरै, हरकिसिमको छेदनविधि
खडा भो, साथै त्यो नगिच नगिचै मृत्युपरिधि।।
१६
ठुला सोझा सोझा जरठ तपसी बान्धवहरू
कटानीको टाँचा हृदयबिच हेर्दै धुरुधुरु।
रुँदैछन्, ढल्दैछन् उपकरण लाखौं थरि बनी
जगत्को गर्दैछन् हरकिसिमले मङ्गल पनि।।
१७
कसैका देखिन्छन् शिर विकट नङ्गा र मुडुला
कसैका काटिन्छन् कटकट कठै हात डुँडुला।
कसैका ताछिन्छन् कमर, बिचरा रक्तमय छन्
तपस्या त्यो कत्रो? तदपि सब आनन्दमय छन्।।
Page:Tarun tapasi.pdf/127
Appearance
This page has not been proofread
