This page has not been proofread
२१
कडा ती कालैका अति कठिन जिभ्रामय तिखा
दगुर्दा बस्तीमा उस बखत दावानलशिखा।
हुँदो होला त्यस्ता अटल तपसीको कुन गति
कठै त्यो हत्याको मनुज कुन सम्झोस् परिणति?।।
२२
हवाले दन्केको उस दहनको त्यो लपलपी
सहन्छन् वर्षेनी तिनिहरु तिनैको हित जपी।
तमासा त्यो देख्छन् मनुज, तर छन् पत्थर सरी
महत्ता को सम्झोस् तप र तपसीको? हरि हरि।।
२३
यती भन्दाभन्दै तरुण तपसीका वदनमा
प्रभा अर्कै दौड्यो, सकल बदले रङ्ग छिनमा।
म हेर्दैछू, सारा तन किरणरेखामय भयो
ठुलो त्यै चौकीको जरठ तरुमा त्यो अलपियो।।