२१
कता राम्रा रत्नद्युतिमय दिशापालसदन
कतै घुम्थे साक्षात् कुसुमधनुका साथ मदन।
कतै चन्द्रज्योत्स्नाधवल सुरगङ्गानिकटमा
तपस्वी देखिन्थे तपशिखर झैं टम्म तटमा।।
२२
कतै रक्षोभूत प्रभृति गणका बाल वनिता
गला फारी पढ्दै हरचरितका गीत कविता।
निशामा उफ्रन्थे हरतरहको ताण्डव गरी
थियो जस्को केही पर उपर कैलासनगरी।।
२३
तमासा ती खासा उपसुरपुरीका सब थरी
निहारी त्यो भन्दा पनि उपर जाने सुर धरी।
चढ्यो फेरी मेरो नजर नभमा साहस गरी
सबै त्यागी साना कुसुमकलिका षट्पद सरी।।
२४
तडिल्लेखा भन्दा त्वरितगति सङ्कल्परथमा
चढी उड्दाउड्दै अति वितत आलोकपथमा।
पर्यो सामुन्नेमा अति चहकिलो दिव्य नगरी
थियो जो शोभाको निरुपम महासागर सरी।।
२५
त्यहाँ पुग्नासाथै गति शिथिल भैगो नयनको
खुशीको हावाले विकसित भयो भाव मनको।
जता फर्की हेर्यो सुखमय उतै रामरमिता
थियो कस्तो कस्तो प्रथम कविको उच्च कविता।।
२६
विधाताको यद्वा नियतिगतिको लाखन थरी
चमत्कारी लीला सबतिर सदा सूचित गरी।
बनेका बेगिन्ती उस नगरमा रङ्गमहल
मिही ज्योतिर्धारा पलपल उकेल्थे झललल।।
Page:Tarun tapasi.pdf/103
Appearance
This page has not been proofread
