६
समेटी बिस्तारै मृदुल करले चारु कबरी
निशालाई मानू प्रणयवश आलिङ्गन गरी।
उठे सुस्तै सुस्तै प्रमुदित निशानाथ विमल
बन्यो साह्रै राम्रो गगनमय त्यो रङ्गमहल।।
७
पखाली ज्योत्स्नाले मुखमलिनता दोष रजनी
भयें राम्री गोरी अब त म भनी गद्गद बनी।
सफा ऐना जस्ता विमल सरमा कान्ति मुखको
झुकी हेर्थी मानू अनुभव लिँदै स्वर्गसुखको।।
८
बनी चल्दो फिर्दो सरस मुटु जस्तै गगनको
शशी शोभा छर्दै भुवनभर सर्वत्र जुनको।
उदायेका देखी मुदित मुख पारी कुमुदिनी
सबै हाँसे, हाँसी अझ मसुमुसू रम्य रजनी।।
९
प्रिया रात्री काली, प्रियतम शशी उज्ज्वल अति
अँगाल्दा उस्लाई हृदयबिच, कालो अलिकति।
सरेको हो यद्वा प्रणयसुखको सम्मिलनमा
परेको हो छाया निविड कबरीको वदनमा।।
१०
प्रभाद्वारा गर्दै हृदय दुनियाँको परवश
चढ्यो माथी सुस्तै अमृत चुहुँदो रौप्यकलश।
तमासा त्यो खासा प्रणयसित हेर्दै टुलुटुलु
म थालें वा मेरो हृदय हुन थाल्यो ढुलुमुलु।।
११
पगालेको चाँदीमय किरणमाला टललल
जटामा बग्नाले अमृतरस छर्दै सललल।
हुँदै जान्थ्यो मेरो स्तुतिवचनमा गद्गद गला
म भन्थें साठी होस् अमृतकरको शीतल कला।।
Page:Tarun tapasi.pdf/107
Appearance
This page has not been proofread
