१२
त्रियामा त्यो श्यामा अमृतकरका दिव्य करमा
बनी धन्या मान्या प्रमदजननी विश्वभरमा।
नराम्री होस् कन्या तर वर गुणी लायक भये
हुनासाथै पाणिग्रहण, उसका दुर्दिन गये।।
१३
थिये साना साना किरणकणिका जो गगनमा
बिपत्ता भो सत्ता सकल तिनको एक छिनमा।
रहे यौटा दोटा पर पर उज्याला अलि अलि
गराये संसारै अमृतकरले नै झिलिमिली।।
१४
चमत्कारी शोभा चमचम सबैतर्फ छरियो
धराको छातीमा अमृतमय माधुर्य भरियो।
विना यस्तै नेता धरणितलमा वा मुलुकमा
प्रजा अन्धो दुःखी कसरि रहला शान्तिसुखमा?।।
१५
ठुलाको सानाको रतिभर कुनै भेद नगरी
स्वयं निःस्वार्थी भै अमृत सबमा शीतल भरी।
उदायेको देख्दा अमृतकर नीलो गगनमा
घुम्यो अर्कै छाया उस बखत मेरा नयनमा।।
१६
बिचैमा लर्केको रजतघट देखी तरतरी
चुहुन्थ्यो वा बग्थ्यो जुन अमृतको शीतल झरी।
खुशीले त्यो प्यूँदै चपचप गरी चञ्चुचपल
चकोरश्रेणीले जुन सब गर्यो पूर्ण सफल।।
१७
जुनेली त्यै शोभामय सुरधुनीमा खलखली
नुहाई वा थापी शिर, अटल भै कत्ति नचली।
भिजायें बिस्तारै मगज, बहुतै शीतल भयें
पछी सुस्तै फेरी नयनयुग माथीतिर दियें।।
Page:Tarun tapasi.pdf/108
Appearance
This page has not been proofread
