१८
विवेकी नेताको नगिच दुनियाँको मन सरी
पुग्यो फेरी आँखा अमृतकरमा खायस धरी।
वहाँ हेर्दाहेर्दै हृदयदहमा लाखन थरी
उठे उत्प्रेक्षाका अति सरल सङ्कल्पलहरी।।
१९
बसी स्वर्गङ्गाको निकट सुरकन्या सब मिली
सफा तेही डल्लो अमृतकरका साबुन दली।
चुहाई चौतर्फी अमृतरसधारा तरतरी
नजाने धुन्थे कि प्रणयसित फोयेर कबरी?।।
२०
जलक्रीडा गर्दा अमर कुँवरीले नगिचमा
फराकीलो नीलो गगनमय चट्टानबिचमा।
फुकाली राखेका सब चहकिला भूषण सरी
थिये झिल्के तारा उस बखत सारा वरिपरि।।
२१
स्वयं गोता मारी अमरतटिनीमा दिनभरी
किनारामा उत्री किरणफुहरामा जल भरी।
पखाल्थे वा मैलो गगन विधुले नत्र कसरी
बहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी?।।
२२
बनायो कस्ले त्यो रजतघट? पीयूष उसमा
भर्यो कस्ले? पोत्यो कुन सकसले दिव्य सुषमा?
कहाँ देखी निस्क्यो? उपर उपरै चल्छ कसरी?
कहाँ पुग्ने होला? गगनपथको मङ्गल गरी।।
२३
अघी मात्रै नीलो जुन गहन विस्तीर्ण पथमा
थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा।
अहो त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी
चलेका छन ऐले भुवनभर गोरोचन घसी।।
Page:Tarun tapasi.pdf/109
Appearance
This page has not been proofread
