२४
चिसो तातो सोमाऽऽनलमय महादीपक दुई
दुवै हत्केलामा लिइकन कतै डग्न नदिई।
घुमाई को, कस्को हरबखत नीराजनविधि
अहो गर्दो होला मधुर छवि छर्दै निरवधि?।।
२५
अहो पालैपालोसँग रवि शशी नित्य यसरी
घुमी जाँची सारा निमिषभर विश्राम नगरी।
नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो
कठै के निस्कन्थ्यो छरछर गरी सृष्टिछहरो।।
२६
यती गम्दागम्दै बहुत छिपियो नीरव दिशा
बनी एकैनासे मुदितमुख हाँसे दश दिशा।
हवा मानू सुस्तै अमृतरसका मन्थन गरी
घुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी।।
२७
म त्यो प्यूँदाप्यूँदै सुखमय जुनेली रसझरी
डुबेंछू चुर्लुम्मै हृदयदहमा गद्गद परी।
वहाँ पुग्नासाथै ढकमक भयो जीवनकलि
मुटूले भेट्टायो गगनगुरुको रूप सकली।।
२८
बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयें
गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन गयें।
म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु
नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु?।।
२९
खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी
खडा सर्वव्यापी परम गुरुको दर्शन गरी।
घुमायें चौतर्फी नयन तर त्योतर्फ नमिली
भयो मेरो तीखो नयन नयनैमा इलिमिली।।
Page:Tarun tapasi.pdf/110
Appearance
This page has not been proofread
