६
तिनैपत्रे कापी, कलम तिनचुच्चे, तिन थरी
मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी।
मिलाई लेखेको क्षरमय सफा अक्षर सब
सबै मर्मस्पर्शी उस कविकलाको अनुभव।।
७
मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरती
सबै छोटा लामा लयमिलित छन् छन्द अझ ती।
मिलेको शैली त्यो, मिलित पदविन्यास रचना
अमिल्दो निस्कन्थ्यो कसरि उसको काव्यकलना?।।
८
नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा
पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कारसुषमा।
चिरस्थायी भावोदय छ भरिलो, छैन कटुता
कठै कस्ले जान्ने प्रथम कविको काव्यपटुता?।।
९
झरीलो यो लामो तप तप चुहेको मह सरी
चमत्कारी, भारी मधुर, भरिएको रसझरी।
सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमा
नजान्नेका लागी तर अति विषालू मधुरिमा।।
१०
हजारौं के लाखौं रसिक रसिलो जीवनभरी
सबै टण्टा छोडी विविध कविसम्मेलन गरी।
मजा लिन्छौं भन्दै प्रथम कविका काव्यरसको
बिलायेको देखें नबुझिकन क्यै मर्म उसको।।
११
झुकें केही तेही सकल कविता हेर्न म पनि
चढ्यो हेर्दाहेर्दै मगजबिच उल्टो सनसनी।
फुक्यो त्यस्ले गर्दा कमलफुल झैं फर्र हृदय
उडीहाल्यो कालो मधुकर सरी बन्धविषय।।
Page:Tarun tapasi.pdf/113
Appearance
This page has not been proofread
