१२
उडेथ्यो त्यो कालो भ्रमर उरदेखी जब अनि
रुवा झैं हल्का भो निमिषभरमा जीवन पनि।
बिलायो बिस्तारै विशद बिपनाभित्र सपना
जुटीहाले मानू प्रणयसित गङ्गा र यमुना।।
१३
तिनै ढोका भत्के उस नगरका जीव जसमा
करोडौं सङ्ख्यामा हरबखत रुन्छन् सकसमा।
म छू त्यै चौकीमा, तदपि उस भन्दा पर भयें
थला मारी मारी नउठिकन अर्कै घर गयें।।
१४
त्यहाँ पुग्दासाथै मन मगज राम्रै बदलियो
सदा पीछा गर्दो विकट भयको भूत छलियो।
म सुस्तायें सुस्तै तनविषयको मान, ममता
गयो गल्दै गल्दै, विलय हुन थाल्यो विषमता।।
१५
मर्यो ताल्चा ताल्चाउपर, परनिन्दा पर सर्यो
निराशाले आशाउपर अति खासा घर गर्यो।
तितीक्षाको शिक्षा हृदय लिन लाग्यो हरघडी
गये डुब्दै डुब्दै कठिन सपनाका सब घडी।।
१६
बनी वाञ्छा दासी, मतलब उदासी हुन गयो
दया भै अंखासी, शठ हठ हट्यो वा लय भयो।
चितामा गै चिन्ता, सकल शकियो शोक बिचरो
बिदा माग्यो, भाग्यो द्रुतगति असन्तोष छिचरो।।
१७
हवामा हल्लेको शिमलफुल झैं कर्मगतिमा
रह्यो यद्वा लड्क्यो तन, नयन भो मुग्ध चितिमा।
शुक्यो देख्दादेख्दै अगम गहिरो मोहजलधि
सबै बिर्सीहालें विषयतिरको रोदनविधि।।
Page:Tarun tapasi.pdf/114
Appearance
This page has not been proofread
