१८
म यस्तो, त्यो त्यस्तो, किन? कसरि? भन्ने सब गयो
छ जो जस्तो, उस्तो उस बखत भास्यो, पर भयो।
जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरी
अलग्गै बस्ने भो हृदयबिच संसर्ग नगरी।।
१९
यसो भो, यो होला अनि म गरुँला कार्य यसरी
यहाँको यो भन्ने अति गहन सङ्कल्पलहरी।
हराये, बाँकी भो हृदयबिच खाली परहित
फुर्यो पन्था अर्कै बहुत सजिलो पापरहित।।
२०
नसा, मासू, हड्डी, रगतहरुको देहगठरी
सदा, फैर्दै बोक्तै थकित भइ चल्दो जुगभरी।
कठै निर्धो दुब्लो गतरुचि अहङ्कारभरिया
ढल्यो तर्नासाथै रज र तमको दीर्घ दरिया।।
२१
झिटो झाम्टो फाली सकल अघिको रङ्ग बदली
छरीतो भै फुक्तै मधुर परमाऽऽनन्दमुरली।
खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमा
ममा मिल्दै आयो विमल जल झैं दूधबिचमा।।
२२
म हाँसें, त्यो हाँस्यो, पर पर सर्यो भेद फरक
डुब्यो त्यै हाँसोमा बहुत जुनिको स्वर्गनरक।
त्यहाँ देखी दोस्रो जडभरतको छाडन गरी
म हाँसेको हाँस्यै अझतक छँदैछू हरि हरि।।
२३
यहाँ जो पृथ्वीमा अबुझहरुका दृष्टिपुटमा
म रुन्चे जस्तो छू, तर उस पिताको निकटमा।
सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखको
पितालाई मात्रै अनुभव छ यो हास्यसुखको।।
Page:Tarun tapasi.pdf/115
Appearance
This page has not been proofread
