९
नगीचै त्यै मीठो ध्वनि जलदको साऽऽदर सुनी
लतावृक्षद्वारा प्रणयवश रोमाऽऽञ्चित बनी।
धरा फेरी हाँसिन्, कुसुमरस वा सौरभ घना
थियो मानू सानू मधुर उनको हास्यरचना।।
१०
हवा चाहीं बाठो चटकपटु जादूगर बनी
लुकी निक्कै हाँस्यो, मुसुमुसु हँसायो फुल पनि।
छुट्यो घुम्टी, हाँसे मुदित मुख पारीकन दिशा
कुना लागी मस्के अलिकति लजायेर विदिशा।।
११
मिहीं सेतो दन्तद्युति तुहिनको दर्शित गरी
सबै हाँसे खोली मुखमय दरी उन्नत गरी।
नदी, नाला, झर्ना सब मधुर खित्कामय थिये
तिनैले त्यो शोभा अझ डबल चर्को गरिदिये।।
१२
जवानी उर्लेका हँसमुख ठिटीतुल्य सब ती
नदी, नाला, झर्ना लिइकन बडो चञ्चल गति।
घुमी नाच्दै कुद्दै अभयसित थाले छिहिलिन
चले हाँस्तै हाँस्तै, जलधिसित भो मस्त मिलन।।
१३
फिँजारी फैलाई प्रबल रसिला बाहुलहरी
अँगाली जम्बै ती तरुण वयले मुग्ध नखरी।
लडी खित्का छोडी जलधि पनि हाँस्यो हिलिलिली
खिंची उस्को पानी रविकिरण हाँसे अझ बली।।
१४
ठुला साना प्राणी, मनुज, पशु, पक्षी, कृमितक
सबै हाँसे, हाँस्यो समयगति खोलेर पलक।
धमीलो भोगाऽऽशा सकलतिर हाँस्यो र सबको
हँसायो चौतर्फी क्षणिक सुखसौन्दर्य भवको।।
Page:Tarun tapasi.pdf/119
Appearance
This page has not been proofread
