१५
चिची, पापा, नाना, बुबु र पुतलीका रहरमा
खुशी मान्दै हाँस्यो चपल शिशु ता मस्त सुरमा।
पिछा लागी उस्को लुकि लुकि गरी आँखमिचनी
जवानी झन् हाँस्यो मुसुमुसु 'म को हूँ चिन' भनी।।
१६
जवानीका साथै प्रिय वरबधूका हृदयको
खिँचातानी हाँस्यो पहिरिकन माला प्रणयको।
हँसायो त्यस्ले झन् मधुर मुख दाम्पत्यसुखको
कठै त्यस्मा हुन्थ्यो मनुज, पशु, पक्षी विमुख को?।।
१७
हँसीलो त्यै भित्री प्रणयसुख थापीकन गुरु
सबै हाँस्तै आये सुखसयलका साधनहरू।
तँ हास्यो, त्यो हाँस्यो, प्रभु, तिमितपाईंहजुरम
सबै हाँस्यो लाखौं थरि विषमताको 'स रि ग म'।।
१८
ठुलो हाँ हाँ साथै विषयममतामा ढलिमली
गरी नाता हाँस्यो रगतपसिनामा मिलिजुली।
तिखा आँखा तर्दै 'तँ तँ र म म' को सम्भ्रम गरी
घुमी झन् झन् हाँस्यो भुवनभरमा भ्रान्तिभुमरी।।
१९
क्षुधा तृष्णा दोटी शरम नभयेका सहचरी
बसी भित्रै हाँसे अनलसित आलिङ्गन गरी।
तिनैको त्यै भित्री प्रणयरस वा तृप्तिसुखमा
भुली हाँस्तै दौड्यो हरकिसिमको खाद्य मुखमा।।
२०
कतै हाँस्यो खाना बहुत रसिलो वा अति मिठो
कतै निल्नै गाह्रो मलिन मडुवाफापरपिठो।
मिठो देख्दा हाँस्यो रुचि रहर वा लालच अति
घृणा, निन्दा हाँस्यो मलिन नमिठोमा खितितिति।।
Page:Tarun tapasi.pdf/120
Appearance
This page has not been proofread
