Jump to content

Page:Tarun tapasi.pdf/83

From Nepali Proofreaders
Revision as of 20:55, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१२}} जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा ::उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा। तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती ::भनें मर्मस्पर्शी वचन उसलाई अलिकति...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

१२
जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा
उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा।
तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती
भनें मर्मस्पर्शी वचन उसलाई अलिकति।।

१३
तँ सानै छस् बाबू तर तँसित आलोककणिका
हुनाले क्यै भित्री दिल सकल पारीकन फुका।
दिँदैछस् धक्का त्यो अभयसित दुर्भेद्य तममा
म सम्झन्छू तेरो सफल जुनिको त्यो मधुरिमा।।

१४
हजारौं तैं जस्ता पुरुषहरु पैले पिलिपिली
गरी बढ्दाबढ्दै भुवन सब पारी झिलिमिली।
गये वा जाँदैछन् तँ पनि तिनि झैं कत्ति नडरी
अगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी।।

१५
तँ सानू, त्यो सानू किरणकण, सानू गतिविधि
कठै त्यो झन् सानू, निविड तमविच्छेदनविधि।
सबै यो देख्दैछू तदपि मनले भन्छ नडरा
जती शक्छस् कालो गगनपथ आलोकित गरा।।

१६
न देखिन्छन् ऐले दिनमणि, न तारा, ग्रह, शशी
न आँखाले भेट्छन् चपलबिजुली दर्शनखुशी।
अहा त्यो मौकामा पिलिपिलि तँ गर्छस् जतिजति
तँमाथी वर्षन्छन् प्रणयफुल मेरा उतिउति।।

१७
न त्यो तेरो तातो छवि छ रविको झैं अति कडा
न त्यस्मा क्यै देख्छू तुहिनकरको शीतबखडा।
अनौठाको, सानू तर मधुर आलोकगठरी
म हेर्दैछू तेरो पलक नलगाई छक परी।।