१८
जुता, मोजा यद्वा कठिनतम दोचा जुनिभरी
उनी गुम्स्यायेका क्षणभर धरास्पर्श नगरी।
कसैका पैताला गरम पसिनाले लपलपी
भिजी रुन्थे, जल्थे मनुजमतिदेखी धपधपी।।
१९
कसैका कन्थाको विकट बदबूले हरघडी
झुकी बस्नूपर्थ्यो जिनतिन दुवै नाक पकडी।
कसैले पैह्रेका तरल खुसबूको महकमा
हवा पौडी खेल्थ्यो पल पल खुशीको बहकमा।।
२०
डँडाल्नाको बाङ्गो धनुष, फिर ताँदो खकनको
घना सुस्केरा नै अनवरत टङ्कार धनुको।
बडो भुत्ते बोधो श्रम शर गरी दीन भरिया
शिकारी भै मार्थे जिनतिन कठै भोकचिडिया।।
२१
कुनै छाता ओढी अकडसित ताम्दानबिचमा
बसी पुग्नासाथै सरस उस चौकीनगिचमा।
कहन्थे डोले हो नभन 'अब बस्छौं, गरम भो'
मलाई त्यो सुन्दा उस मनुजतामा शरम भो।।
२२
झिकी बासी सत्तू जठरहरिको पूजन गरूँ
भनी लागे कोही तर पवन आयो हुरुरुरु।
धुलो वैर्यो उस्मा, निमिषभरमा त्यो पनि उड्यो
मलाई मायाले मुटुकन समातेर जकड्यो।।
२३
कुनै थुप्रो खानाउपर पनि खाना थपि थपी
चुसी चाटी टोकी चिजबिज अनेकौं लपलपी।
डकारी खै मेरो मधुर हजमी पाचक भनी
शिशी बट्टा खोजी गजबसित लड्थे कनिकनी।।
Page:Tarun tapasi.pdf/90
Appearance
This page has not been proofread
