Jump to content

Page:Tarun tapasi.pdf/91

From Nepali Proofreaders
Revision as of 20:54, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२४}} कुनै फुस्रा धुस्रा चुटुचुटु जगल्टा र जुटिका ::फुटाई पल्टाई चपलगति दुर्भाग्यगुटिका। टिपी राखी ढुङ्गाउपर सब फोर्थे पटपटी ::मलाई त्यो देख्दा हृदयबिच हुन्थ्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

२४
कुनै फुस्रा धुस्रा चुटुचुटु जगल्टा र जुटिका
फुटाई पल्टाई चपलगति दुर्भाग्यगुटिका।
टिपी राखी ढुङ्गाउपर सब फोर्थे पटपटी
मलाई त्यो देख्दा हृदयबिच हुन्थ्यो छटपटी।।

२५
तलासेका चिल्ला महक उडने बालहरुमा
कसैको दौडन्थ्यो मन मुदित गर्ने मधुरिमा।
खरानीले गर्दा शिव शिव कसैको शिरभरी
सुनाझाँक्रीको झैं चमक चमकन्थ्यो सुनहरी।।

२६
यताको यो चिल्लो छवि फिर उताको सुनहरी
प्रभा दोटै भिन्नै किसिमसित भिन्नै पथ गरी।
उनै फुस्रा धुस्रा, कृषकहरुका मध्य शिरमा
मडारिन्थ्यो, खेल्थ्यो घुमि घुमि बडो मस्त सुरमा।।

२७
धराको छातीमा तपतप चुहेका अति घना
टिपी मोती जस्ता श्रमजलधिका दिव्य पसिना।
कुनै उन्थे माला जनमभर सौभाग्यसुखको
कुनै भन्थे खोस्यो किन कपटले गाँस मुखको?।।

२८
झुटा साँचा लाखौं विधिसित सबैमाथि सबको
खिचातानी चल्दा फगत पसिनाको विभवको।
अशान्तिज्वालाको घर घर थियो नित्य नचरी
सबैमा दौडन्थ्यो शठ जठर भर्ने थरहरी।।

२९
सबै लोभी, लाल्ची, हृदय सबको शुष्क बगर
सबैको अर्कैमा गरम पसिनामाथि रहर।
कुनै त्यो सन्तोषी पुरुष कहिल्यै भेट्न शकिनँ
नचाहोस् जो ताता मधुर पसिना चप्प पिउन।।