This page has not been proofread
चतुर्दश विश्राम
१
अलि बेर पछी तपोधन
तपसीको मुखपद्म पावन।
ढकमक्क भयो पुरा पुरा
चुहिहाले मकरन्द झैं कुरा।।
२
खिचातानी हेर्दै गरम पसिनाको छक परी
झुकेको मौकामा प्रकृतिजननीले शिरभरी।
गुतायिन् त्यै फेरी फल र फुलको दीर्घ पगरी
जुटे जस्ले गर्दा अतिथि अघि झैं लाखन थरी।।
३
लुछे, लाछे उस्तै किसिमसित त्यो दीर्घ पगरी
जती जस्ले पायो भरशक लुछ्यो लालच धरी।
म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमा
उदेकायें खाली नलिइ पिर वा दर्द मनमा।।
४
गरी यै ढाँचाले परहित सदा भक्तिसहित
बिते मेरा सुस्तै विजनपथमा वर्ष बहुत।
भयो फुस्रो धुस्रो तन पनि कडा कालगतिले
सबै लुर्का फुर्का मकन दिन छोडिन् प्रकृतिले।।
५
म भोग्थें वर्षेनी जुन विभवले चोट अरुका
लुछिन्थें, लाछिन्थें, उहि सब भयो कारण फुका।
छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकन
म लागें एकाकी फगत उहि छायासुख दिन।।