Jump to content

Page:Tarun tapasi.pdf/97

From Nepali Proofreaders
Revision as of 20:54, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२१}} गयो बढ्दै चढ्दै किन किन ठुलो पूजनकला ::मजैमा घन्कन्थे घननन गरी घण्ट, तबला। अनौठाको आडम्बर उदित भो मर्त्यमनमा ::कठै त्यस्सै भाग्यो श्रुतिविहितअध्यात्म वनम...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

२१
गयो बढ्दै चढ्दै किन किन ठुलो पूजनकला
मजैमा घन्कन्थे घननन गरी घण्ट, तबला।
अनौठाको आडम्बर उदित भो मर्त्यमनमा
कठै त्यस्सै भाग्यो श्रुतिविहितअध्यात्म वनमा।।

२२
महात्मा भै कोही फगत परनिन्दाकन गरी
म यस्तो हूँ भन्दै श्रवणबिच हालाहल भरी।
बटुल्थे वा लुट्थे हरकिसिमले गुह्य गठरी
कुनै चाबी बस्थे गरम हलुवा, घेवर, पुरी।।

२३
निचोरी निर्धाका रगतपसिना घूस बटुली
ठुलो पूजासामासहित लिइ बोकाहरु बलि।
कुनै पूजा गर्थे 'जननि खुसि होऊ' भनिकन
म रुन्थें त्यो देखी मनुजमतिको उग्र पतन।।

२४
क्रमैले त्यो चौकी अतिशय ठुलो तीर्थ गनियो
हजारौं के लाखौं मनुजहरुको भीड उनियो।
अहा त्यो वेलाको अति मधुर मेला रमझम
थियो यौटा भारी चटकमय भाग्योदयसम।।

२५
हजारौं धर्माऽऽत्मा जनहरु तहाँ रातदिवस
बसी गर्थे लाखौं किसिमसँग सद्धर्मबहस।
मलाई जो मान्थे तिनिहरु ठुला आस्तिक थिये
नमान्ने जो जो हुन् तिनिहरु हठी नास्तिक भये।।

२६
अहिंसा अस्तायो, यम, दम, दया, सत्य दलियो
क्षमा, मैत्री भाग्यो, प्रणय, शम, सन्तोष छलियो।
उज्यालो, देखौवा तिलक अति सानू अबिरका
निशाना भैहाल्यो विधिवश कठै धर्मतिरको।।