१५
भयेकी हुन् कैल्यै जुग जुग कसैकी न धरणी
कसैकी छन् ऐले न त, फिर कसैकी पछि पनि।
वृथा मेरी भन्दै डुबिकन कडा मोहविषमा
उनैको छातीमा सब लय हुँदैछन् निमिषमा।।
१६
गुणी हो, ज्ञानी हो, बहुत चतुरो जाति नरको
सिपालू, उद्योगी, गुरुसदृश यो विश्वभरको।
बुझोस् ता यस्ले त्यो परहितमहामन्त्रमहिमा
दरिन्थ्यो पृथ्वीको 'अमर नगरी' नाम बहिमा।।
१७
कडा, पीरो, मैलो लिइ मतलबी ग्याँस उरमा
बनी अन्धो जस्तो इतर जनको कष्ट पिरमा।
खियेको देख्दा यो चतुर नरजाति प्रतिदिन
कठै मेरा आँशू तरतर बहन्छन् किन किन?।।
१८
हजारौं यै जस्ता मनुज मनमौजीपन धरी
हिँडे वा हिँड्दैछन् सब सरसरी यै पथ गरी।
खुला नै छन् आँखा तर विकट अन्धोपनसित
मित्यारी लायेका अति कठिन कारुण्यरहित।।
१९
बडा बाठा, टाठा, सकल तर बाटोबिच परी
लडेको त्यो भोको पथिकतिर लाटोपन धरी।
हिँडेका छन् त्यस्तो तुजुकसित ठाडो शिर गरी
अहो कस्तो कालो समझ तिनको त्यो हरि हरि।।
२०
गुहे, काला, कौवा, अपढ वनका बन्दर पनि
पर्यो यौटामाथी विधिवश जसै सङ्कट अनि।
धुरिन्छन् दर्शाई प्रबल नमुना बन्धुपनको
अहो त्यस्तो नीचो पतन किन यो मर्त्यमनको?।।
Page:Tarun tapasi.pdf/63
Appearance
This page has not been proofread
