२१
यहाँ चल्ने फिर्ने मनुजहरुको जत्ति हक छ
धरित्रीको छातीउपर यसको उत्ति हक छ।
हर्यो होला कस्ले कसरि बिचमा भाग यसको?
कठै जस्ले गर्दा नरजुनि डुब्यो रङ्गरसको।।
२२
न ता यो अल्छी हो, न त छ यसको अङ्ग विकल
न ज्यादा ढल्केको वय छ, न भिखारी छ शकल।
अहो यस्तो सादा कृषक मिहिनेती कृशबल
लडी भोग्दो होला कुन अधमको कुत्सित छल?।।
२३
न त्यो भन्थ्यो मौरी बनि मह सदा सञ्चय गरूँ
न भन्थ्यो ऐशी भैकन फजुलखर्चीपन धरूँ।
धरित्रीको भित्री विधिनियमले प्राप्य यसको
गुम्यो होला खाना कुन छल परी हाय कसको?।।
२४
कुनै त्यस्तो खाना विन विकल या मूर्छित सरी
कुनै खाना देख्दा अरुचिवश बस्छन् पर सरी।
तमासा यो हो वा विधिनियमको घोर भुल हो?
दुवैको यद्वा त्यो इतर जुनिको कर्मफल हो?।।
२५
गरी खाना जम्बा अरुचिवश त्यो खान नशकी
शुकेका जो जो छन् मनुज तिनले त्यो सब झिकी।
इनै भोका शोकाऽऽकुल गरिबका दीन मुखमा
चढाये बढ्थ्यो कि अभिरुचि कठै खाद्यसुखमा?।।
२६
नहेरी अर्काको मलिन मुख, लोभीपन धरी
समेटी सोहोरी सब खचित पारी घर भरी।
भनी मेरो मेरो कति कति बिते व्याकुल बनी
अहो उस्तै अन्धो अबुझ दुनियाँ यो अझ पनि।।
Page:Tarun tapasi.pdf/64
Appearance
This page has not been proofread
