३
हुँदोहो ता खाना फल फुल तथा खाद्य मसित
म दिन्थें त्यो सारा अतिथिजनलाई खुशिसित।
दिने त्यस्तो केही मसित नहुँदा आज सकल
भयो चौबाटाको जनम तप वा वास विफल।।
४
कि ता माता मेरो सदय मन यो मन्द गरिद्यौ
कि ता याताऽऽयातै पथिकजनको बन्द गरिद्यौ।
विपद् बाधा भोका अतिथिजनको हेर्नसहन
नशक्नाले सल्क्यो जननि मनमा शोकदहन।।
५
नपाई खाना क्यै उदरगत रुद्राऽनल बली
जलेको देख्दा त्यो गरिबजनको जीवनकलि।
जबर्जस्ती मेरो पनि सब जलेको छ हृदय
त्यसैले यो गर्छू जननि पदमा विन्तिविनय।।
६
उठोस् आँधीब्यारी लिइ विकट विध्वंस विभव
फुटोस् वज्रद्वारा पटपट गरी मस्तक सब।
जुटोस् चर्को कोलाहलरव, छुटोस् प्राणपवन
म त्यो मेरो बाधा सहन शकुँला, यो त शकिनँ।।
७
नशक्नाले भोको अतिथिजनको गर्न कदर
वृथा भैगो, गैगो जननि जुनि मेरो, जनि गर।
खुला देख्छू तिम्रो अति अगम भण्डार, उसमा
कमी केको होला? किन मकन पार्यौ सकसमा?।।
८
पुकारा यो सारा विकल बटुवाखातिर गरी
झकायें चिन्तामा, अलि दिन भयें मूर्छित सरी।
बिलौना माताले पनि सदयतासाथ सुनिछन्
ममाथी चौतर्फी फल र फुलका हार उनिछन्।।
Page:Tarun tapasi.pdf/67
Appearance
This page has not been proofread
